काठमाडौं- अस्ति बुधबार साँझ सुरु भएको हिउँदे वर्षा आज बिहीबार अपराह्नसम्म पनि जारी छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा अहिले पनि देशैभरि सामान्यदेखि ठूलो वर्षा भइरहेको छ।
अहिले भइरहेको हिउँदे वर्षा यस वर्षको आठौं हो। यस्तै अवस्था शनिबारसम्म रहने र आइतबारबाट मात्र मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। मौसम बदली भएर हल्का वर्षा सुरु भएको तीन दिन भइसकेकोले उच्च पहाडी क्षेत्र तथा काठमाडौं उपत्यका वरपरका डाँडाहरुमा समेत हिउँ परेको छ।
भोलि शनिबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ। त्यसैगरी प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ।
धेरै वर्षपछि नेपालमा माघ महिनामा ठूलो र लामो वर्षा भएको जानकारहरु बताउँछन्। गत वर्ष हिउँदको भन्दा बढी पानी यस वर्ष परिसकेको छ। हिउँद सकिन करिब एक महिना बाँकी नै छर अहिलेसम्म सरदर ५७.१ मिलिलिटर पानी परिसकेकोले यस वर्ष हिउँदमा औसतभन्दा धेरै पानी पर्ने स्पष्ट भइसकेको छ।
हिउँदमा पानी पर्दा चिसो बढेर जनजीवन कष्टकर हुने भए पनि यसका सकारात्मक पक्षहरु पनि छन्। खासगरी हिमाली तथा उच्च पहाडी क्षेत्रका किसानका लागि हिउँदे वर्षा सुखद् हुने गर्छ। हिउँदे खेतीका लागि सिँचाइभन्दा आकासे पानीको प्रभाव निकै सकारात्मक हुन्छ। विशेषगरी गहुँबालीलाई हिउँदे वर्षाले राम्रो गर्छ।
अहिले भइरहेको हिउँदे वर्षा यस वर्षको आठौं हो। यस्तै अवस्था शनिबारसम्म रहने र आइतबारबाट मात्र मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
यद्यपि, धेरै ठूलो वर्षा भएको खण्डमा त्यसको नकारात्मक असर त पर्छ नै। गत कात्तिकमा परेको ठूलो बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति पुगेको थियो।
जल तथा मौसम विज्ञान विभागले आज अपराह्न प्रकाशित गरेको विवरणअनुसार पछिल्लो २४ घण्टाको अवधिमा सबैभन्दा बढी दिपायलमा झन्डै ५३ मिलिमिटर वर्षा भएको छ भने नेपालगन्जमा ३०.२ मिलिमिटर, जुम्लामा ३२.१ मिलिमिटर, धनगढीमा २७.८ मिलिमिटर, पोखरामा २३.६ मिलिमिटर, घोराहीमा २३.५ मिलिमिटर, काठमाडौंमा २२.४ मिलिलिटर र वीरेन्द्रनगरमा २१.५ मिलिमिटर वर्षा भएको छ।
अहिलेको मौसमी प्रणाली आइतबारबाट कमजोर हुने र मौसम खुलेर जाडोसमेत घट्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।