काठमाडौं- फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्स प्रालिले फ्याक्टस अफ नेपाल २०२२ पुस्तक सार्वजनिक गरेको छ। इन्फोग्राफिक संकलनसहितको सातौं संस्करण यसै सातादेखि बजारमा आएको हो।
यो संस्करणमा देशका सामाजिक, राजनीतिक, वातावरणीय, र आर्थिक क्षेत्रहरूको अवस्थाको बारेमा विस्तृत तथ्याङ्क र इन्फोग्राफिक्स समावेश छ। संस्करणले कुल २२ क्षेत्रहरूलाई समेटेको प्रकाशकले जानकारी दिएको छ।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यम मार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्दै आएको छ।
पुस्तकको यो संस्करणको मूल्य ५ सय छ। पुस्तक देशका प्रमुख पुस्तक पसलका साथै केही अनलाइन पसलमा पनि उपलब्ध हुने प्रकाशकले जनाएको छ।