शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उखुबारी घटना : भाडाका अपराधी प्रयोग गरेर तीनजना व्यावसायिक साझेदारको हत्या

उखुबारी घटना : भाडाका अपराधी प्रयोग गरेर तीनजना व्यावसायिक साझेदारको हत्या

मोरङ र ललितपुरमा तीनजना व्यावसायिक साझेदारको हत्या भाडाका अपराधी प्रयोग गरेर भएको पाइएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- मोरङ र ललितपुरमा तीनजना व्यावसायिक साझेदारको हत्या भाडाका अपराधी प्रयोग गरेर भएको पाइएको छ। हत्या अभियोगमा सिरहाका ३१ वर्षीय अनिलकुमार मण्डल पक्राउ परेका छन्। मण्डलले नै भाडाका अपराधीलाई पैसा दिएर तीनजनाको हत्या गर्न लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हत्यामा संलग्न अन्य दुई जनालाई पनि मोरङ प्रहरीले पक्राउ गरेको छ तर उनीहरुको नाम खुलाइएको छैन। घटनामा अन्य व्यक्तिको पनि संलग्नता देखिएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको प्रहरीले बताएको छ। एउटा निष्कर्षमा पुगेपछि मात्र सबै कुरा जानकारी दिने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन्।

अनिल मण्डलले प्रतिव्यक्ति ५ लाख रूपैयाँ दिने शर्तमा भारत र नेपालका पेशेवर अपराधी प्रयोग गरेर तीनजनाको हत्या गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

मोरङको धनपालथान गाउँपालिका-७ उखुबारी र ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोमा हत्या गरेर गाडेको अवस्थामा तीनजनाको शव भेटिएको थियो। सुनसरीको धरान उपमहानगरपालिका-३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नागरपालिका-४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भु चौधरीको शव मोरङको उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो। उनीहरुको शव गत माघ १३ र १४ गते फेला परेको हो। 

उखु काट्ने क्रममा स्थानीयले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए। एउटा शव भेटिएको स्थानबाट करिब ३० मिटरको दूरीमा रहेको अर्को खाल्डोमा अर्को शव फेला परेको थियो। प्रहरीका अनुसार दुवैको घाँटीमा डोरीको डाम थियो। 

घटनाको अनुसन्धानका क्रममा प्रहरीले तेह्रथुम सङ्क्रान्तिका ६२ वर्षीय मोहन लिम्बूको शव पनि हत्या गरेर गाडेको अवस्थामा ललितपुरको गोदावरीमा बिहीबार फेला परेको हो। 

एकै तरिकाले हत्या गरेर गाडिएको अवस्थामा फेला परेका तीनैजना व्यावसायिक साझेदार भएको खुलेको छ। पक्राउ परेका मण्डलसँग मिलेर उनीहरुले जग्गा, हाइड्रोपावर, सिमेन्ट उद्योग लगायतमा लगानी गरेको खुलेको छ। मण्डलले भारतीय र नेपाली अपराधीलाई भाडामा प्रयोग गरेर आफ्ना तीनजना साझेदारको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मण्डललाई प्रहरीले केही दिनअघि काठमाडौंबाट पक्राउ गरेको थियो। उनलाई हिजो बिहीबार विराटनगर लगिएको छ। उता मोरङ प्रहरीले सुनसरीको भन्टाबारी र बर्जुबाट सात जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको थियो। धरान, काठमाडौं, झापा, विराटनगरलगायत स्थानबाट पनि केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। घटना निकै संवेदनशील र योजनाबद्ध भएकाले बहुआयामिक कोणबाट अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

नियन्त्रणमा लिइएकामध्ये दुई जनाले घटनामा संलग्नता स्वीकार गरिसकेको बताइएको छ। मोरङ प्रहरीले आज पत्रकार सम्मेलन आयोजना गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने भएको छ।

उखुबारीमा गाडिएका दुवैजनालाई हत्या गर्नुअघि विराटनगरको रत्ना होटल र मेट्रोसिटी गेस्ट हाउसमा राखेको पाइएको छ। गत मंसिर पहिलो साता व्यवहार मिलाउन भन्दै काठमाडौंबाट पूर्वतर्फ गएका थिए श्रेष्ठ र चौधरी। कल डिटेल रेकर्डले पनि त्यही संकेत गरिरहेको प्रहरीले जनाएको छ। उनीहरुको कनेक्सनकै आधारमा लिम्बूको पनि शव फेला परेको हो।

प्रकाशित: Feb 04, 2022| 11:16 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।