डोटी- गए रातिदेखि जिल्लाका विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ। बाक्लो हिमपातकाका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन्।
यहाँका खप्तड, गोलादेउ, नापानी, चर्केकोलेक, बडिकेदारथान, अल्याडी, चौरीबाज, ओखरखाली, मुस्ताल, देउताल, शिखरगाथ क्षेत्रमा बिहीबारदेखि हिमपात भइरहेको छ। यस क्षेत्रमा केही हप्ता पहिले परेको पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसो बढेको हो।
पानीका मुहानदेखि रुखहरुमा समेत बाक्लो हिउँ जमेका कारण गाईवस्तुलाई घाँस काट्न र मानिसलाई पानी खानसमेत समस्या भएको बडिकेदार गाउँपालिका-२ का भरत बोहराले जानकारी दिए। रासस