काठमाडौं– प्रेस काउन्सिल नेपालले कोभिड–१९ महामारीका विषयमा पुष्ट्याइँबेगर विश्व स्वास्थ्य संगठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले आज बिहीबार विज्ञप्ति जारी गरी तथ्यगत पुष्ट्याइँबेगर सामग्री तयार भई एक समाचार संस्थाबाट समेत सञ्चारमाध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएको प्रति काउन्सिलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
समाचार सामग्री तयार एवं सम्प्रेषण गर्नुपूर्व सत्यतथ्य र विश्वसनीयताको परीक्षण गरी वितरण र सम्प्रेषण गर्न–गराउन समाचार संस्था, सञ्चारमाध्यम र सम्बन्धित पक्षसँग काउन्सिल अनुरोधसमेत गरेको छ। तथ्यगत पुष्ट्याइँ नभई अपुष्ट स्रोत र त्यसको परीक्षणबेगर सम्प्रेषित सामग्रीले समाजमा भ्रम फैलाउने भएकाले सञ्चारमाध्यमले सत्य, तथ्य, सन्तुलित एवं विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७५) मा उल्लेख ‘सञ्चारमाध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन–प्रसारण वा बाह्य लिंकहरू प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्दछ’ भन्ने व्यवस्थाका बारेमा पनि काउन्सिलले स्मरण गराएको छ।