काठमाडौं- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको सरकार पूरा समय टिक्ने र तीनै तहको निर्वाचनमा मिलेर जाने बताएका छन्। बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नटुट्ने ठोकुवा गरेका हुन्।
गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनसहित प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समेत गठबन्धन मिलेर जाने नेपालको दाबी छ।
‘हामी जनताका निम्ति राजनीति गरिरहेका छौँ। समाजवादको यात्रामा अघि बढिरहेका छौँ। ५ दलीय गठबन्धन निर्माण गरेका छौँ। दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ,' नेपालले थपे, 'दिमाग खराब गर्ने काम नगराउनुस्। यो गठबन्धन टुट्नेवाला छैन। कसैले टुटाउन खोजेपनि गठबन्धन टुट्नेवाला छैन।'
'हामीले एकपछि अर्को महत्वपूर्ण सफलता पनि हासिल गरिरहेका छौँ। संविधान जोगाएका छौँ। लोकतन्त्र बचाएका छौँ। संघीयताको रक्षा गरेका छौँ। र नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशामा लैजान खोजिएको थियो। त्यसलाई गलत बाटोमा जानबाट रोकेका छौँ,' नेता नेपालले भने, 'जेठमा स्थानीय चुनाव हुन गइरहेको छ। त्यसमा पनि गठबन्धनका दलहरु मिलेर अघि बढ्नेछन्। त्यसैले अहिले गठबन्धन तोड्न अनेक प्रयास गरिरहेका होलान्, तर उनीहरुको गलत मनशाय सफल हुनेछैन। देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकोले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरुपहरु देख्नेछौँ।’
राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएको र विजयको यात्रा आगामी वर्षको मंसिर महिनामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म कायमै रहने उनको दाबी छ।
अध्यक्ष नेपालले बुधबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भएको बताउँदै गठबन्धनलाई अझ बलियो बनाएर लैजाने प्रतिबद्धता जनाइसकेको समेत जानकारी दिए। 'अहिले भर्खरै मात्र पनि हामीले नेपाली काँग्रेसका सभापति तथा देशका प्रधानमन्त्री शेरबहादुर देउवाजी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजी र म आफैँ हामी तीनै जना बसेर अहिले भर्खरै छलफल गर्यौं। पत्रपत्रिकामा मनगढन्ते कुराहरु धेरै आएका रहेछन्। यी सबै कुरामा कुनै पनि सत्यता छैन। यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भनेर प्रतिवद्धता जनाएका छौँ।'
जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हीतलाई केन्द्रबिन्दुमा राखेर सबैसँग राम्रो सम्बन्ध बढाउने, हामीले सोच, नीति आफूहरूले अवलम्बन गर्दै आएको नेता नेपालको दाबी छ।