काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले डा गोविन्द केसीको मागमा विषयमा आफू अस्पष्ठ भएको बताएका छन् ।
संसद बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका नेता नेपाल बैठक स्थगित भएपछि बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै केसीका माग स्पष्ट रुपमा आउनुपर्ने बताए ।
‘केसीले के माग राखेका छन् त्यो नै प्रष्ट छैन । जायज माग भए सरकारले पूरा गर्नुपर्छ र नाजायज हो भने, त्यस्तो माग पूरा गर्न सकिँदैन,’ नेता नेपालले भने, ‘यदी उहाँले स्वास्थ्य क्षेत्रको विकृति हटाउने कुरा गर्नुभएको हो भने यसको निराकरणका लागि सबै जुट्नुपर्छ ।’
नेता नेपालले देश शिक्षा र स्वास्थ्यमा भएको भ्रष्टाचार, सडक निर्माणमा देखिएको भ्रष्टाचारका कारण चुलुम्म डुबेको भन्दै यो विकृतिको सबैले समाधान खोज्नुपर्ने बताए ।
तर, उनको मागका बारेमा सरकारलाई पनि जानकारी हुनुपर्ने भन्दै नेता नेपालले छलफलबाट समस्याको समाधान गर्नुपर्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४