काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलको नेता शेरबहादुर देउवाले जुम्लामा भएको घटना निन्दनीय रहेको बताएका छन् । बिहीबारको संसद बैठक स्थगित भएपछि बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले सरकारले संविधान विपरित काम गरिरहेको आरोप लगाए ।
'डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुको साटो उनका समर्थकलाई लाठि हान्नु, गोली हान्नु असभ्य र निर्लज्ज काम हो,' देउवाले भने, 'यो घटनाको म घोर भत्सना गर्दछु । यसरी जनतालाई लाठी हान्न र गोली हान्ने अधिकार सरकारलाई छैन ।'
उनले सभामुखको बेइमानीका कारण अहिलेसम्म संसद अवरुद्ध भइरहेको आरोप लगाए । 'यो संसद यति लामो समयसम्म किन बन्द गरेको ? हामीसँग छलफल नै भएको छैन्,' देउवाले भने, 'हामीले राखेका माग सम्बोधन गर्ने विषयमा कुनै छलफल नै भएको छैन । यसका लागि सभामुखले अग्रसरता देखाउनुपर्ने हो । यसरी लगातार संसद अवरुद्ध हुनु सभामुखकै बेइमानीका कारणले हो ।'
नेता देउवाले आफ्नो नेतृत्वको सरकारले सहमतिमै ल्याएको चिकित्सा शिक्षा विधेयकलाई पास गराउन र डा केसीका माग सम्बोधन गर्न सरकार लागि पर्नुपर्ने उनको भनाई छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४