काठमाडौं– यो साताभरि मौसममा सुधार नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आज मंगलबार विशेष मौसम बुलेटिन जारी गर्दै न्यून चापीय प्रणालीका कारण आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको हो।
विभागका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश नम्बर १ का उच्च पहाडी र हिमाली भूभागका विभिन्न स्थानमा हल्का हिमपात तथा पहाडी र तराईका धेरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यसैगरी शुक्रबार देशका उच्च पहाडी र हिमाली स्थानमा हल्कादेखि मध्यम हिमपात तथा देशका पहाडी र तराईका धेरै स्थानमा मेघ गर्जनसहित चट्याङ र असिना एवं हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। गण्डकी र लुम्बिनीका एक दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान विभागको छ। शनिबार भने गण्डकी, बागमती र प्रदेश नम्बर १ का विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।
अहिलेको मौसमी प्रणाली आइतबारदेखि कमजोर हुँदै जाने र त्यसपछि मात्रै मौसम खुल्ने विभागले बताएको छ। चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन विभागले सबैलाई सतर्क पनि गराएको छ।