काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र सो को मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको राष्ट्रिय युवा संघ, नेपालले आरोप लगाएको छ।
मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरुउपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधान बमोजिम कारबाही गर्न माग गरिएको संघका अध्यक्ष किरण पौडेलले बताए।
उनले जनताको सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जास्पद र जनघाति कदम भएको बताए। उनले भने, ‘स्वास्थ्य मन्त्रालय भित्रैबाट २४ लाख डोज खोप हराएको छ। जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालय भित्रैबाट २४ लाख डोज खोप हराउनु भनेको अत्यन्त लज्जास्पद र अत्यन्त जनघाति कदम हो।’
अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गराएको बताए।