काठमाडौं- उपत्यकामा उत्पादित फोहोर नुवाकोटको सिसडोल पुर्याएर विसर्जन गरिन्छ । तर, त्यहाँको ल्यान्डफिल साइट वर्षाका कारण हिलाम्य भएपछि काठमाडौं उपत्यकामा फोहोरको डंगुर बढेको छ ।
उपत्यकाका नगरपालिकाहरूका अनुसार ल्यान्डफिल साइटसम्म जाने सडकमा हिलो जमेका कारण फोहोर उठाएर त्यहाँसम्म पुर्याउन नसकिएको हो । मंगलबार रातिको वर्षाका कारण फोहोर विसर्जन गर्न समस्या आएको ललितपुरका महानगरपालिकाका प्रवक्ता राजन महर्जनले बताए ।
उनका अनुसार ल्यान्डफिल साइट पनि मर्मत भइरहेको छ । ललितपुर महानगरको फोहोर उठाएर सिसडोल गएका चार वटा गाडी बिहान ६ बजे हिँडेर साँझ ५ बजे मात्र ल्यान्डफिल साइटमा पुगेका छन् । तीमध्ये एउटा गाडीको मात्र फोहोर विसर्जन भएको छ ।
'ल्यान्डफिल साइटको मर्मत र बाटो हिलाम्य भएकाले पनि फोहोर उठाउन र विसर्जन गर्न ढिलाइ भइरहेको हो,' महर्जनले भने । उनका अनुसार मंगलबार मंगलबजार र पुल्चोकबाट फोहोर उठाइएको थियो भने बुधबार लगनखेलको मुख्य चोकबाट उठाइएको छ । बिहीबारदेखि भने घर-घरको फोहोर उठाइने उनले बताए ।
छोटो समयका लागि बालकुमारीस्थित करिब चार आना जग्गामा अस्थायी रूपमा फोहोर थन्क्याउने गरेको छ, ललितपुर महानगरले । तर, त्यो ठाउँ दुई दिनमै भरिन्छ ।
काठमाडौंको टेकुमा भने अलि ठूलो क्षेत्रफल भएकाले केही दिनका लागि फोहोर थन्क्याउन सकिन्छ । ललितपुर महानगर क्षेत्रबाट दैनिक करिब ९० टन फोहोर संकलन हुने गरेको छ, जसको ६० प्रतिशत सिसडोल पुर्याएर विसर्जन गर्ने गरिएको छ ।
तीन वर्षका लागि भनेर फोहोर विसर्जन गर्न थालिएको सिसडोलको ल्यान्डफिल साइट १३ वर्षदेखि निरन्तर प्रयोगमा छ । फोहोरको पहाडमाथि माटो बिछ्याएर सडक निर्माण गरिएको छ ।
त्यहाँ फोहोरको थुप्रो यतिसम्म बढेको छ कि काठमाडौंबाट पठाइएका टिपरहरूलाई ल्यान्डफिल साइटसम्म पुर्याउन डोजरले धकेल्नुपर्छ । यो समस्या बर्सेनि बल्झिन्छ, समाधानका लागि प्रयाससम्म हुन सकेको छैन । सिसडोलको विकल्पमा नुवाकोटकै बञ्चरे डाँडामा नयाँ ल्यान्डफिल साइट निर्माणाधीन छ, जसले १४ वर्षदेखि पूर्णता पाउन सकेको छैन ।
अहिले काठमाडौं महानगरबाट दैनिक पाँच सय टन फोहोर सिसडोल पुर्याउने गरिएको छ ।
सिसडोलको सात सय ४० रोपनीमा फोहोरको पहाड बनेको छ । बञ्चरेडाँडाको १७ सय ९२ रोपनीको ल्यान्डफिल साइटसम्म पुग्न पूर्वाधार तयार भइसकेको छैन । स्थानीय कोल्पु खोलामा पुल निर्माण भएको छ । तर, बालाजु बाइपासदेखि बञ्चरे डाँडासम्म पुग्ने सडकको हालत जीर्ण छ ।
वातावरणविद् भुषण तुलाधरले ट्विटमार्फत् उपत्यकामा जमेको फोहोरका कारण सडकको लेन थप्नुपर्ने आवश्यकता औंल्याएका छन् । 'लगनखेलमा फोहोरले दुई लेन ढाकेको देखेर कसैले भन्ला सडक साँघुरो भयो, दुई लेन थपौं,' तुलाधरले लेखेका छन्, 'जसरी यो समस्याको समाधान लेन बढाउने होइन, सडकको फोहोर व्यवस्थापन गर्ने हो, त्यसैगरी ट्राफिक जाम कम गर्ने उपाय पनि लेन थप्ने मात्र होइन, सडकमा भएका गाडी घटाउने वा व्यवस्थापन गर्ने हो ।'