काठमडौं- २० दिनदेखि अनशनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउनका लागि सरकारले हेलिकोप्टर पठाएको छ । जुम्लामा अनशनरत डा केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर पठाइएको हो ।
डा केसीलाई पहिला सुविधासम्पन्न अस्पतालमा उपचार गर्ने र त्यसपछि उनको मागका विषयमा छलफल गर्ने नेकपाको बुधबारको निर्णय अनुसार उनलाई लिन सरकारले हेलिकोप्टर पठाएको हो । हेलिकप्टर जुम्ला पुगिसकेको छ ।
तर, डा केसी आफ्नो माग सम्बोधन नभएसम्म काठमाडौं नआउने अडानमा छन् । चिकित्सा शिक्षा विधेयक फिर्ता नलिएसम्म काठमाडौं नफर्किने उनको अडान छ । उनले यसअघि पनि सरकारले हेलिकप्टर पठाउने तयारी गर्दा बरु जुम्लामै मर्ने तर आफ्नो माग सम्बोधन नभएसम्म काठमाडौं नफर्किने अडान लिएका थिए ।
डा केसी काठमाडौं जान नमानेपछि उनलाई लिन अनशन स्थल जान लागेको प्रहरी टोलीलाई विद्याथीहरुले अवरोध गरेका छन् । केसीका पक्षधर, स्थानीयबासी र विद्यार्थीहरूले प्रहरी तथा सरकारी टोलीलाई अनसनस्थल प्रवेश गर्न दिइरहेका छैनन् । उनीहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटसम्मै बसेर प्रहरीको प्रवेशमा अवरोध गरिरहेका हुन्।
सरकारले भने डा केसीको अवस्था चिन्ताजन भएकाले काठमडौं ल्याउन लागिएको जनाएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले गृह मन्त्रालयको निर्देशन बमजोजिम केसीलाई जीवन रक्षाका लागि काठमाडौं पठाउन लागिएको जानकारी दिए ।
डा केसी पक्षका वार्ता टोली सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले डा केसीको माग सुनवाई नगरि विरामीसंग जस्तो व्यबहार गरेर राम्रो नगरेको बताए । सरकारको क्रृयाकलापले केसी पक्षलाई थप आक्रोशित बनाएको छ । वार्ता प्रक्रिया पनि बुधबारदेखि अवरुद्ध भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४