काठमाडाैं- २० दिनदेखी जुम्लामा अनसन बस्दै आएका डा गोविन्द केसीको मागप्रति सरकार संवेदनशील नभएको भन्दै चिकित्सकहरु अस्पताल बन्द गरेर सडकमा उत्रिएका छन् । बिहीबार एक दिन देशभरका अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर चिकित्सकहरुले आन्दोलन चर्काएका हुन् ।
डा केसी पक्ष र सरकारबीच तीन चरणको वार्ता बिफल भएपछि नेपाल चिकित्सक संघले बुधबार आन्दोलनको घोषणा गर्दै अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेको थियो । संघको आह्वानमा बिहीबार बिहानैदेखि अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा रोकिएको छ ।
विहानै अस्पताल पुगेका धेरैजसो विरामीहरु निराश भएर फर्किका छन् । केसीले उठाएका मागबारे सरकार गम्भीर नभए देशभरका अस्पताल अनिश्चितकालका लागि बन्द गर्ने समेत संघले चेतावनी दिएको छ ।
अस्पताल बन्द गर्ने विषयमा संघभित्रै विवाद भएको थियो । नेकपा निकट मानिने संघकी कोषाध्यक्ष रक्षा श्रेष्ठले नोट अफ डिसेन्ट लेख्दै अस्पताल बन्द गर्न नहुने बताएकी थिएन् । डाक्टरहरुले नै अस्पताल बन्द गर्दा नराम्रो सन्देश जाने र बिरामीलाई पनि मर्का पर्ने भएकाले संघले अस्पताल बन्दको निर्णयमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो । यद्यपी विहीबार अस्पतालहरु बन्द गरिएको छ ।
संघको आह्वानमा आज चिकित्सकहरु सडकमा प्रदर्शन गर्दैछन् । काठमाडौंको माइतिघर मण्डलामा मध्यान्न चिकित्सकसहित नागरिकसमाजका अगुवा, अधिकारकर्मी र सर्वसाधरणले प्रदर्शन गर्ने भएका हुन् । डा केसीको माग सम्बोधन नभएसम्म डाक्टरहरु अस्पताल नफर्किने नेश्नल रेजिडेन्ड डक्टर्स एसोसिएसनका अध्यक्ष सुमित पाण्डेले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४