बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निकिताको प्रश्‍न : यहाँ काम गर्नेलाई किन सजाय दिन खोजिन्छ ?

निकिताको प्रश्‍न : यहाँ काम गर्नेलाई किन सजाय दिन खोजिन्छ ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
म सिने परिवारमा जन्में। सानैदेखि सिने संसारमा हुर्कें र बढें। म त भन्ने गर्छु,  'एक्सन कट' त मैले गर्भमै सुनेका शब्द हुन्। चलचित्र मेरो रगतमै बगेको छ। यसबाट अलग भएर बाँच्न‍ सक्दिनँ। अमेरिका गएर फिल्म नै पढें। मास्टर्स गरेपछि मलाई त्यहाँ अल्झिन मन लागेन। मलाई त्यहाँ थुप्रै 'अफर' थिए। तर, मातृभूमिमै फर्केर काम गर्ने अठोट गरें र नेपाल फर्किएँ। 

पत्रिकामा चलचित्र विकास बोर्डको अध्यक्षको विज्ञापन देखेपछि मलाई त्यहाँ प्रतिस्पर्धा गर्न मन लाग्यो। मैले त्यो हिम्मत गरें। मलाई त्यतिबेलै धेरैले भनेका थिए, 'कति भनसुन चल्छ, राजनीति हुन्छ। त्यहाँ तिमीजस्तो केटीलाई काम छैन।' तर, मैले हरेश खाइनँ। मैले जाँच दिएँ, अन्तरवार्तामा सहभागी भएँ। अरू प्रतिस्पर्धीलाई पछि पार्दै म छानिएँ।  

कसैको निगाह वा आशिर्वादले यो पद पाएकी होइन। मेरो अठोट, परिश्रम र क्षमताको प्रतिफल हो मेरो पोजिसन। म कुनै राजनीतिक पार्टीको कार्यकर्ता होइन र थिइनँ। म सामान्य नागरिक हुँ। नेपाल र नेपालीलाई माया गर्छु। चलचित्र जगतसँग असाध्यै प्रेम छ। यसमा परिवर्तन गर्न सकिन्छ भन्ने आत्मविश्वास छ। केही गरेर देखाउने अठोट छ। 

सात महिना मैले परिवार र आफूलाई पनि बिर्सेर काम गरें। अब त्यसको परिणाम आउन लागेको छ। धेरैले सम्भव छैन भनेको बक्स अफिस हामीले लागू गरेर देखायौं। यसमा कमिटी, चलचित्र बिकास बोर्डकी  कर्मचारी,चलचित्रकर्मी,मीडियाकर्मी र बोर्डका पूर्ब अध्यक्ष्य सबै। धन्यबादका पात्र बन्नु भएको छ चलचित्र जगतमा यो आफैंमा ठूलो फड्को हो। अरू पनि थुप्रै परिवर्तन गर्यौं।

प्रधानमन्त्रीज्यूलाई थाहा नहुन पनि सक्छ । म कुन पृष्ठभूमिबाट कसरी नियुक्ति भएँ भन्ने कुरा ।  तर सरकारले राजनीतिक नियुक्ति खारेज भन्दै मलाई पनि होलसेलमा हटायो। मेरो नियुक्तिको पृष्ठभूमि र मैले गरिरहेको कामबारे एक पटक पनि नसोधिकन हटाइएको खबरले म पनि स्तब्ध भएँ। मलाई दु:ख कुर्सी तथा पद गुम्यो भन्ने होइन। विदेशमा पढेर स्वदेशमा केही गरौं भनेर फर्केका मजस्ता युवालाई किन यहाँ काम गर्ने अवसर दिइँदैन। सरकारको यो निर्णयले निकिता मात्र होइन, आफ्नो मातृभूमिमा केही गरौं भन्ने थुप्रै निकिताहरूलाई निराश बनायो। अदालतले न्याय दिन खोजेको छ।मेरो एउटै आग्रह छ, काम गर्नेलाई सजाय दिन नखोज्नुस् । त्यसले मजस्ता थुप्रै युवालाई निराश बनाउँछ । मेरो प्रश्न छ, यहाँ काम गर्नेलाई किन सजाय दिन खोजिन्छ 

प्रधानमन्त्री ज्यूलाई फेरि म स्पष्ट पार्न चाहान्छु कि म कमाउनका लागि चलचित्र बोर्डमा गएकी थिइनँ। त्यो कहिल्यै मेरो सोचाइ भएन। सबैलाई थाहा छ। यसबीचमा मैले के-के गरें? तर, मैले एउटा गल्ती गरें, राजनीति गरिनँ। बहुमत आयो भन्दैमा म रातारात कम्युनिस्ट बनिनँ। प्रधानमन्त्री तथा मन्त्रीलाई भेटेर चाकडी गरिनँ। आफ्नो सुरमा काम मात्र गरिरहें।

मलाई नियुक्ति गर्दा पनि बजारमा एकथरीले यो केटीलाई बोर्डमा किन ल्याएको भन्दै अनेक कुरा गरेका थिए। धेरैले खुट्टा तान्ने कोशिस गरे। तर, म अलिकति पनि विचलित भइनँ। किनकि, मलाई कसैले टीका लगाएर यो कुर्सी दिएको होइन। आफ्नो योग्यता र क्षमताले यो ठाउँमा आएकी हुँ। जति समय मैले चलचित्र विकास बोर्डका लागि दिएँ, त्यति समय आफ्नो व्यवसायमा दिएको भए मेरा लागि त्यो निकै  लाभदायक हुन्थ्यो होला।

चलचित्र विकास बोर्डको अध्यक्षका हैसियतले निर्णयहरू गर्दा मैले आफ्नो व्यवसाय र आफ्नै परिवारका सदस्यहरूको समेत विपक्षमा उभिनुपरेको थियो। बक्स अफिसको शुरुवात आफ्नै हलबाट गरेकी हुँ। आफ्नै भाइले निर्माण गर्दै गरेको चलचित्र ‘रोजी’को सुटिङ आफैँ गएर रोकेकी छु र यस्ता धेरे जोखिम मैले मोलें। मलार्इ सरकारी तलब, सुविधा, पदको कुनै लालच थिएन र छैन। 

म बोर्डमा भए पनि नभए पनि मेरो सक्रियता सधैं चलचित्र क्षेत्रको व्यावसायिक विकासमा केन्द्रित हुनेछ। पूरै जीवन म यसमै समर्पित गर्न चाहन्छु। सरकारले मलार्इ हटाउने निर्णयपछि मेरो मनमा एउटै प्रश्न खडा भएको छ, अब विदेशमा पढेर उतै विभिन्न अवसर पाउने युवा पंक्तिले किन स्वदेश फर्किने ?

सर्वोच्च अदालतको आदेशबाट पुन:स्थापित भएकी नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग नेपाल समयका लागि राजन घिमिरेले गरेको कुराकानीमा आधारित।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।