काठमाडौं– नेपालमा माघको १५ दिनमा कोरोना संक्रमणबाट १२२ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति छन्। यस्तै माघ ६ गते एकै दिन १२ हजार ३३८ जनामा कोरोना संक्रमण भएको थियो। यद्यपि अब संक्रमण दर घट्दै जाने सरकारी अधिकारीहरुकाे दाबी छ।
गत साता कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा ३५ वर्षीया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो। क्यान्सर रोगी उनलाई कोरोना संक्रमण भएपछि वीरमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भयो। सोही अस्पतालमा आएका अर्का ५५ वर्षीय पुरुषको मृत्यु कोरोनाकै कारण भयो। उनमा पनि मिर्गाैलाको समस्यालगायत अन्य समस्या देखिएको थियो।
‘कोरोना संक्रमणका कारण भन्दा पनि उनलाई अन्य समस्याले सिकिस्त बनाएको रहेछ’, अस्पतालका सहनिर्देशक प्रज्वल श्रेष्ठले भने, 'उनीहरु दुवैले खोप लगाएका थिएनन्। अस्पतालमा मृत्यु भएकाहरु पनि धेरै खोप नलगाएका र दीर्घरोगी नै छन्।’
‘पछिल्लो समय मृत्यु हुनेहरुलाई कुनै न कुनै किसिमको अन्य रोग देखिएको छ। धेरैजसो वृद्धवृद्धाको मृत्यु भएको छ भने कम उमेरका मानिसमा पनि अन्य रोगहरु पाइएको रिपोर्टिङ भएको छ।’
कोरोनाको कारण मृत्यु भएका भनिएका व्यक्तिहरुमा अन्य कुनै न कुनै समस्या देखिएको थियो। त्यसैमाथि उनीहरुमध्ये धेरैले कोरोनाविरुद्धको खोप नै लगाएका थिएनन्, जसले गर्दा थप समस्या थपिएको चिकित्सकहरूको बुझाइ छ। ‘खोप लगाइदिएको भए उनीहरुको मृत्यु हुन्थेन कि!’ श्रेष्ठले भने।
नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको पनि एक वर्ष पूरा भइसकेको छ। यस अवधिमा कुल जनसंख्याको ४६.१ प्रतिशतले पूर्णमात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। तर पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेहरुमध्ये अघिकांशले खोप नलगाएको पाइएको छ। त्यस्तै अस्पतालमा भर्ना भएकामध्ये ५० प्रतिशत खोप नलागाएका छन्। अस्पताल भर्ना हुनेहरुमा धेरैजसो वृद्धवृद्धा र अन्य दीर्घरोग भएका व्यक्ति छन्। वृद्धवृद्धा, दीर्घरोगी अनि त्यसमाथि कोरोनाविरुद्धको खोप नलगाएको हुनाले उनीहरुको अस्पताल बसाइ अन्यको भन्दा लम्बिएको छ।
दैलेखकी मीना पाण्ेड (नाम परिवर्तन) यतिबेला काठमाडौंको वीर अस्पतालमा भर्ना भएकी छिन्। ५५ वर्षीया उमेरकी उनलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई उच्च रक्तचापको समस्या छ। उनी अस्पतालको आईसीयूमा छिन्। चिकित्सकका अनुसार उनले कोरोना विरुद्धको भ्याक्सिन लगाएकी छैनन्। खोप केन्द्र टाढा भएपछि खोप लगाउन नगएको कुरुवा बसेका उनका छोरा उमेश बताउँछन्। उनी भन्छन्, ‘खोपकेन्द्र पुग्नै एक घण्टाभन्दा बढी लाग्थ्यो, आमा थोरै हिँड्न पनि सक्नुहुन्न त्यसैले खोप लगाउनुभएको छैन।’ पछिल्लो समय विभिन्न समस्यामा परेर खोप नलगाएका मानिसहरु अस्पताल भर्ना भएका छन्।
माघ ६ गते एकै दिन १२ हजार ३३८ जना कोरोना संक्रमित भेटिएका थिए। २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको कोरोना संक्रमण भित्रिएपछिकै सबैभन्दा उच्च हो।
नेपालमा यतिबेला कोरोना संक्रमण घट्दो क्रममा छ। माघ तेस्रो सातादेखि संक्रमण ओरालो लाग्ने सरकारको प्रक्षेपण छ। माघ ६ गते एकै दिन १२ हजार ३३८ जना कोरोना संक्रमित भेटिएका थिए। २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको कोरोना संक्रमण भित्रिएपछिकै सबैभन्दा उच्च हो।
त्यसपछि क्रमशः घट्दो क्रममा देखिन्छ। यसलाई स्वास्थ्य अधिकारीहरुले संक्रमण घट्दो क्रममा रहेको भनेका छन्। मन्त्रालयको तथ्यांकअनुसार माघ १२ गतेदेखि संक्रमितको संख्या घट्न थालेको छ।
आइतबारसम्मको तथ्यांकअनुसार हालसम्म नेपालमा १० लाख ७७ हजार ३७६ जना कोरोना संक्रमित छन्। उनीहरुमध्ये ८ लाख ५४ हजार ७०७ संक्रमणमुक्त भएका छन् भने ११ हजार ७३५ को मृत्यु भएको छ। अन्य संक्रमित अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा छन्।
गत पुस २० देखि यता कोरोना संक्रमण उकालो लागेको हो। माघ १ गतेदेखि आइतबारसम्म १२२ जना कोरोना संक्रमितको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल बताउँछन्। उनीहरुमध्ये खोप नलगाएका धेरै छन् तर कसले खोप लगाएको थियो, थिएन भन्ने तथ्य प्राप्त भइसकेको छैन।
शुक्रराज अस्पतालमा भर्ना भएकामध्ये २० प्रतिशतले खोप लगाएका छैनन्। खोप नलागाएकाहरुको अस्पताल बसाइ पनि अन्य भन्दा लामो छ। अस्पतालका चिकित्सक डा. विमल चालिसे भन्छन्, ‘पछिल्लो समय कोरोना भएर अस्पताल भर्ना हुनेको संख्या दोस्रो लहरको तुलनामा निकै कम छ। अस्पताल भर्ना भएकाहरु दुई तीन दिनमा नै संक्रमणमुक्त भएका छन्। तर खोप नलगाएकालाई भने बढी समस्या छ।’ चालिसेका अनुसार अस्पतालमा पछिल्लो समय खोकी लागेर, सास फेर्न गार्हो भएर आउनेहरु छन्। उनीहरुमा अक्सिजनको मात्रा कम देखिन्छ। अस्पतालमा आउनेमध्ये ७५ प्रतिशतभन्दा बढी ७५ वर्ष माथिका रहेको महाशाखा प्रमुख डा. पौडेल बताउँछन्।
विभिन्न अस्पतालमा खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका वा अरू रोग लागेका संक्रमितको मृत्यु भइरहेको छ ।
‘पछिल्लो समय मृत्यु हुनेहरुलाई कुनै न कुनै किसिमको अन्य रोग देखिएको छ। धेरैजसो वृद्धवृद्धाको मृत्यु भएको छ भने कम उमेरका मानिसमा पनि अन्य रोगहरु पाइएको रिपोर्टिङ भएको छ’, पौडेलले भने।
यस्तै मृत्यु भएका मानिसमा कुन भेरियन्ट भन्ने पनि पुष्टि भएको छैन। नेपालमा पछिल्लोपटक ओमिक्रोन (बी.१.१.५२९) भेरियन्ट संक्रमणका कारण स्वास्थ्य जोखिम बढेको छ। यसअघि अल्फा (बी.१.१.७) र डेल्टा भेरियन्ट (बी.१.६१७.२) कप्पा भेरियन्ट (बी.१.६१७.१) कारण धेरै मानिस संक्रमित भएका थिए। अन्य दुई भेरियन्टको तुलनामा ओमिक्रोन संक्रमण हुँदा स्वास्थ्य अवस्ठा त्यति जटिल अवस्थामा पुगिनहाल्ने चिकित्सक बताउँछन्। यद्यपि स्वास्थ्य मापदण्डको पनि कडाइका साथ पालना गर्नुपर्ने सुझाव उनीहरुको छ।
महाशाखा प्रमु पौडेल भन्छन्, ‘हामीले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुमा कुन संक्रमण थियो भनेर अहिलेसम्म परीक्षण गरी नतिजा प्राप्त गरेका छैनौं।’ पछिल्लो समय मृत्यु भएकाको पनि भेरियन्ट पत्ता लगाउन स्वाब परीक्षणका लागि नमुना सिक्वेन्सिङ गर्न थालिएको उनले बताए।