आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारको उच्च प्राथमिकतामा मेलम्ची, राजधानीका धारामा यसै वर्षभित्र पानी खसालिने मन्त्री चौधरीको दाबी

सरकारको उच्च प्राथमिकतामा मेलम्ची, राजधानीका धारामा यसै वर्षभित्र पानी खसालिने मन्त्री चौधरीको दाबी

मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई चुस्त र दुरुस्त गर्न मेलम्ची सब प्रोजेक्ट २ अन्तर्गत १०० किलोमिटरको सर्ट रन टेस्ट सम्पन्न भएको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची आयोजनालाई आफूले उच्च प्राथमिकतामा राखेको बताएका छन्। आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सम्पादन गरेका कामको विवरण आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै मन्त्री चौधरीले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची आयोजनाको पुनर्स्थापना गरी काठमाडौं उपत्यकाबासीलाई यस वर्षभित्र  खानेपानी वितरण गरिने बताए।

उनले भने, ‘अस्थायी उपायका रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरी ठेक्का सम्झौता गरिसकिएको छ। निर्माण कम्पनी हाल निर्माणस्थलमा परिचालित भई काम सुरु गरिसकेको जानकारी गराउन चाहन्छु्।’

मन्त्री चौधरीले शुद्ध र गुणस्तरीय खानेपानी नेपाली नागरिकलाई उपलब्ध गराउने जिम्मेवारी पूरा गर्न आफू कटिबद्ध भएको बताए्।  मेलम्चीको स्थलगत अवस्था, प्राबिधिक तथा कानूनी राय परामर्श, निर्माण कम्पनीसँगको वार्ता तथा प्रकृयागत विषयहरुले गर्दा निर्णयमा केही बिलम्ब हुन गएको उनको भनाइ छ। उनले भने, ‘आयोजना कार्यान्वयनलाई उच्च प्राथमिकताको साथ कार्यान्वयन गरिने प्रतिबद्धता ब्यक्त गर्दछु।’  

एसियाली विकास बैंक (एडीबी) ले मेलम्चीमा आएको बाढीपहिरोको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको जानकारी मन्त्री चौधरीले दिए। 

तराई मधेशका जिल्लाका विपन्न घरधुरीमा खानेपानीको व्यवस्थापनका लागि ‘तराई–मधेश ट्युवेल तथा स्वच्छता’ विशेष कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। 

यस्तै मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई चुस्त र दुरुस्त गर्न मेलम्ची सब प्रोजेक्ट २ अन्तर्गत १०० किलोमिटरको सर्ट रन टेस्ट सम्पन्न भएको उनले बताए। मन्त्री चौधरीले भने, ‘हालसम्म जम्मा ३५० किलोमिटरको सर्ट रन टेस्ट  पुरा भई पानी सञ्चालनका लागि तयारी पूरा भएको छ।’ 

तराई मधेशका जिल्लाका विपन्न घरधुरीमा खानेपानीको व्यवस्थापनका लागि ‘तराई–मधेश ट्युवेल तथा स्वच्छता’ विशेष कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्री चौधरीले भने, ‘त्यसका लागि कार्यक्रम स्वीकृत भई यसै आर्थिक वर्षमा बजेट विनियोजन भई कार्यक्रम सञ्चालन गरिएको छ।’ 

नारायणी, नवलपुर, भरतपुर, दाङमा सहलगानी खानेपानी तथा सरसफाइको आयोजना सम्पन्न भएको उनले बताए। सहरी खानेपानी तथा सरसफाइआयोजनाअन्तर्गत कञ्चनपुरमा सिद्धनाथ–बैजनाथ सहरी खानेपानी आयोजना सम्पन्न भएको उनले जानकारी दिए।

थोक खानेपानी (बल्क वाटर) वितरण प्रणालीअन्तर्गत कर्णाली, सुनकोसी–मरिणको अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै राप्ती, नारायणी, कोसी र महाकालीको अध्ययनका लागि परामर्शदाता छनोट गर्ने कार्य प्रक्रियामा छ। 

काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थापनका लागि मन्त्रालयको पहलमा सिस्नेरी स्रोतको सम्भाव्यता अध्ययन भइरहेको, भक्तपुरको महादेव खोला जलाशययुक्त खानेपानीको अध्ययनका लागि खरिद प्रक्रिया अघि बढाइएको र खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत विभिन्न आयोजनाका १५ योजनाहरुको खरिद प्रक्रिया सम्पन्न भई निर्माण चरणमा रहेको मन्त्री चौधरीले जानकारी दिए।

बाढीपहिरोबाट क्षतिग्रस्त ससाना आयोजनाको मर्मत सम्भार गरी संचालनमा ल्याइ सकिएको मन्त्री चौधरीको भनाइ छ। उनले भने, ‘बाढी पहिरोबाट गम्भीर क्षतिग्रस्त खानेपानी योजनाको लगत तयार गरी मर्मत सम्भारका लागि आवश्यक व्यवस्थापनको कार्य अगाडि बढाइएको छ।’ 

अलपत्र परेका आयोजनालाई पूर्णता दिन नीतिगत सुधारका लागि प्रक्रिया अगाडि बढाइएको र खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाइएको मन्त्री चौधरीले जानकारी दिए।


प्रकाशित: Jan 30, 2022| 17:06 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।