काठमाडौं– सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय प्रांगणमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका छन्।
कल सेन्टरमा सेवाग्राहीको गुनासो तत्काल सुनुवाइ गर्नका लागि ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने इमेलको पनि व्यवस्था गरिएको छ। नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढंगले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैंले सो कल सेन्टर स्थापना गर्नुपरेको मन्त्री श्रेष्ठले बताए।
उनले कल सेन्टरमा गुनासो आउनेवित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाए। मन्त्री श्रेष्ठले करिब एक महिनायता भिजिट भिसामा गएकाहरुलाई विचौलियाले ठगी गरी विभिन्न देशमा अलपत्र पारेपछि ती समस्या तत्काल समाधान हुनेगरी काम गर्न पनि सो सेन्टरको आवश्यक्ता महसुुस गरिएको स्पष्ट पारे।
त्यस अवसरमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा गएकाहरुबाट ठगी गरिएको असुल गरिएको रकम तत्काल फिर्ता दिन पनि विचौलियाहरुलाई आग्रह गरे। ६ जना कर्मचारीले सो कल सेन्टरबाट २४ सै घण्टा सेवा दिनेछन्। मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो सुनुवाइ गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे। सो कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाहरुको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ।