बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सहिदकै कारण मुलुकमा संघीय लोकतान्त्रिक प्रणाली सम्भव : प्रधानमन्त्री देउवा

सहिदकै कारण मुलुकमा संघीय लोकतान्त्रिक प्रणाली सम्भव : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन्।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन्।

सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताए। सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखे। सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले सच्चा सहिदको अभिलेख तयार गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिए। 

प्रधानमन्त्रीले भने, ‘मुलुकको अबको गन्तव्य भनेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकलन्त्र र सङ्घीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई छिटो विकसित राष्ट्र निर्माणतर्फ लाने हो।’

कोरोना महामारीका कारण यस वर्ष सहिद दिवसमा प्रभातफेरी कार्यक्रम गरिएन। लैनचौरको सहिद स्मारकमा संक्षिप्त स्मृति कार्यक्रम गरेर सहिद सप्ताहको समापन गरियो। सहिद सप्ताहको पहिलो दिन यही माघ १० गते सीमित व्यक्तिको सहभागितामा शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो। 

सहिद सप्ताहका अन्य कार्यक्रम यही माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको सालिकमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा सीमित पदाधिकारी उपस्थित भएर सालिकमा पुष्पगुच्छा अर्पण गरी मनाइयो। कामपाले हरेक वर्ष माघ १० देखि १६ सम्मलाई विभिन्न कार्यक्रम गरी सहिद सप्ताह कार्यक्रम मनाउँदै आएको छ। 

प्रकाशित: Jan 30, 2022| 13:25 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...