धनगढी- कैलालीको कैलारी गाउँपालिका-९ गदरियामा रहेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका प्रमुख रामानन्द यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २५ हजार घुससहित पक्राउ गरेको छ।
बुधबार अपरान्ह स्थानीय किसानलाई बोरिङका लागि दिएको ५५ हजार रुपैयाँ अनुदानबाट २५ हजार घुस लिएपछि उनी महेन्द्रनगरस्थित अख्तियारको टोलीको फन्दामा परेका हुन्। किसानलाई दिएको रकम घुस खाएपछि अख्तियार महेन्द्रनगरस्थित कार्यालयका प्रवक्ता खिमानन्द पाठकको नेतृत्वमा आएको टोलीले उनलाई परियोजनाको कार्यालयबाटै पक्राउ गरेको हो। उनको साथबाट २५ हजार नगद बरामद गरिएको प्रवक्ता पाठकले जानकारी दिए।
यादवलाई पक्राउ गरी महेन्द्रनगरस्थित अख्तियारको कार्यालय लगिएको छ। उनलाई बिहीबार अख्तियारको केन्द्रीय कार्यालय काठमान्डौ पठाइने पाठकले जानकारी दिए।
अख्तियारको केन्द्रीय कार्यालयले मुद्दा चलाउने निर्णय गर्ने भएकाले काठमाडौं पठाउन लागिएको हो। यसअघि पनि यादवले तीन करोडका कृषि औजार खरिदमा अनियमितता गरेको सवत्र चर्चा थियो।
उनले टेन्डर नगरी किसानलाई अनुदानमा वितरण गरिने ट्याक्टर, पावर ट्रिलर लगायतका करोडौंका उपकरण कोटेशनबाट किनेका थिए। कैलालीमा गहुँको सुपर जोन भएकाले स्थापना भएकादेखि नै यादवलाई परियोजनाको प्रमुख बनाएर पठाइएको थियो।
यादवले यसअघि धनगढीका पत्रकार सुशील ढुंगानासँग समेत ५० हजारको डकुमेन्ट्री बनाउँदा २५ हजार घुस मागेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४