काठमाडौं- बहुमत सदस्य केन्द्रीय सदस्य आफूसँग रहेको दाबीसहित १२ औं महाधिवेशनको मिति घोषणा गरेको नेविसंघको असन्तुष्ट समूहले महाधिवेशनका लागि सम्पर्क कार्यालय खोलेको छ।
पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले बुधबार नेविसंघ महाधिवेशनको लागि दुवै पक्षलाई बोलाएर छलफल र बैठक गर्ने निर्णय गरेको केही घण्टापछि नै असन्तुष्ट समूहले सम्पर्क कार्यालय खोलेको हो।
साउन २३ देखि काठमाडौंको किर्तीपुरमा शुरु हुने महाधिवेशनको तयारी स्वरुप नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको असन्तुष्ट समूहले बुधबार शंकरदेव क्याम्पस अगाडि सम्पर्क कार्यालय खोलेको छ।
आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै शंकरदेव क्याम्पसको अगाडि रहेको क्यापिटल हस्पिटल छेउमा ‘सम्पर्क तथा भेटघाट कार्यालय’ स्थापना गरिएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।
उनका अनुसार महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नवीन राई, प्रकाश राना लगायतका नेता–कार्यकर्ताको उपस्थितिमा १२ आंै महाधिवेशन सम्पर्क कार्यलय उद्घघाटन गरिएको हो।
संस्थापन पक्ष बाझिने गरी समानान्तर गतिविधि गर्दै आएको असन्तुष्ट समूहले गत बुधबार काठमाडौंको बाल्मिकी क्याम्पसमा पत्रकार सम्मेलन गरेर १२ औं महाधिवेशनको मिति र स्थान घोषणा गरेको थियो।
असन्तुष्ट समूहले १२९ सदस्यीय केन्द्रीय कार्यसमिति मध्ये दुई तिहाई आफूहरुसँग रहेको दावी गरिरहेको छ। अध्यक्ष नैनसिँह महरले‘ट्रयाक’ छोडेका कारण बहुमतको अधिकार प्रयोग गरेर महाधिवेशनको मिति घोषणा गरिएको उनीहरुको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४