काठमाडौं- सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनको मिति तय गर्ने सन्दर्भमा कानुनविद्हरुसँग परामर्श गर्दै छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठक बेलुका ४ बजे फेरि बस्ने गरी सकिएको थियो। स्थानीय निर्वाचनका विषयमा गठबन्धनभित्रका दलहरुबीच मतभेद रहेको छ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको समान धारणा बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग परामर्श गरेर शनिबार गठबन्धनको बैठक राखेका थिए। शनिबारको बैठकमा भने राष्ट्रिय जनमोर्चाबाहेक चार वटै दलका शीर्ष नेताहरु सहभागी थिए।
कानुनविद्हरुसँग गठबन्धनले यसअघि पनि परामर्श गरेको थियो। कानुनविद्हरुले संविधान र ऐनमा स्थानीय निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको भन्दै संविधानबमोजिम ऐन संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए।