सर्लाही- हरिवन नगरपालिका-४ गणेशचोकमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ। नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्व-पश्चिम राजमार्गमा हिँडिरहेका स्थानीय ४५ वर्षीय रामबलि रामलाई शुक्रबार राति साढे ८ बजे नम्बर नखुलेको सवारीले ठक्कर दिएको थियो। टाउकोमा चोट लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव पाष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको छ।
सवारी साधन रात्री बस हुन सक्ने प्रहरीले अनुमान गरेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ।