काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था निर्माण गर्न लागेको बताएका छन्।
राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुन बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्ने बताए।
शनिबार काठमाडौंको सानो भर्याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्याउने काममा सरकार लागि परेको बताए।
राज्यमन्त्री श्रेष्ठले भने, ‘अब संघीय कानुन बनिसकेपछि तीन वटा कानुन बन्दैछ। एउटा स्कुल लेबलको कानुन। टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको कानुन बन्छ। त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्छ। त्यो कुराको अपेक्षा गरौं। यस कुरामा म तपाइहरूलाई आश्वस्त पनि गराउन चाहन्छु।’
राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्तालाई आह्वान गरेका छन्। कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष रामकृष्ण चित्रकारले विद्यालयको शैक्षिक क्रियाकलापका बारेमा जानकारी गराएका थिए।