लोकतन्त्रमा
लोक बरु मर्न स्वतन्त्र छ;
बाँच्न त यहाँ श्वासप्रश्वासमै
निषेधाज्ञा जारी छ!
...
चुच्चेनक्साजस्तै
परचक्रीको निशानामा छ
श्वासनलीको अस्तित्व!
हेर्नुस् त,
कसरी
श्वासलाई जोड
र, प्रश्वासलाई बिजोड
कबुल गरिएको छ
उता राष्ट्रघात
यता जीवनघात
अर्थाघातमा
धर्म उस्तै मर्म उस्तै
देशको सीमा र जनताको श्वासनली!
...
श्वासनलीमा यत्रतत्र तैनाथ छन्
भाइरसका दरोगाहरू
खप्पिस छन्
मुटुको ढुकढुकी रोक्न
बाध्य छन् निमुखा घाँटीहरू
अभावको उच्छ्वाससँगै
सङ्क्रामक मृत्यु खोक्न!
...
यता,
फेरि अर्को भेरियन्टले
सखाप पारिदिएका
विचरा थरी थरी खोपका
लखतरान म्यादहरू!
उता,
खोप वा अक्सिजनको गन्धसम्म मनपर्दैन अरे
भाइरसका हाकिमहरूलाई
र, तिनकै आदेशमा
खोपपुर्जाहरू
विवादित बनेका हुनन्
मेड इन... र अनुदानवाला
पुरै पेटी....
जस्तो कि मालपोतमा
कित्ताकाट गर्दागर्दै
कित्ता गायब !
पुर्जावाला लोक रोइरहँदा
खै, कहाँ छ लोकतन्त्रको इजलास?
...
भाइरसका नाममा
मान्छेका के कुरा?
त्रसित छन् चिहानहरू
र,
कात्रो बगाउन असमर्थ छन्
त्रासदीमा बग्न नसकेर
टोलाएका घाटका छालहरू!
जीवनका अस्तुसँगै
खरानी भइरहेछन्
कति धेरै सिर्जना र अठोटहरू!
लासका वरिपरि छरिएका
औषधीका पोका र,
केही थान सिरिन्ज त
विवशताका बुस्टर प्रतीक मात्र हुन्
चिकित्सकका नबुझिने हस्ताक्षर पनि
प्रतीतपत्र त्यसैका!
...
जहाँ,
पुरानो सत्तासँग युद्ध लडेर
जनअधिकार भनी ल्याएको
गणतन्त्रको हवेलीमा
एकोहोरो साँखधुन,
मृत्युधुन बजिरहेछ !
जनताको गरिब फोक्सोघरमा
अनर्गल पाहुना बनेर
विदेशी भाइरस पसिरहेछ!
जहाँ,
पास हुनसक्दैन
रुघाखोकीका लागि
सिटामोलको खरिद कबोलनामा
तर, विज्ञप्त छ-
देशका नाममा 'एमसीसी ज्वरो'
अनि,
एउटा अर्को अघोषित निषेधाज्ञा!
मानौँ कि लोकतन्त्रमा
...तान्त्रिक प्रक्रिया चलिरहन्छ
लोक भने मरिरहन्छ...!
....
बुझिनसक्नु नेपथ्य छ-
ग्रीष्ममा सुकेका पतिङ्गर
रूप बदलिएर ॠतुको
खरबारीमा डढेलो पसेझैँ
सल्किएका परिदृश्यहरू
पसिरहेछन् बस्ती बस्तीमा
मानवभन्दा पहिले
मानवताको चिता जलाइएपछि
फैलिएको बेवारिसे धुवाँसँगै
अराजकताको दुर्गन्धले
धावा बोल्दै छ जतातता!
फेरि पनि,
अस्तित्वरक्षाका नाममा
मृत्युघडा थापेर
चुनाव नाच्न हौसिएका
गुटधारी उन्मत्त शासकको
भेटघाट र बैठकमा प्रहसित
लामो नाट्यकारिताका लागि
गरुडपुराणमा थपिएको छ
एउटा नयाँ अध्याय:
अवतारी महानायक
जप्दै भन्नुहुन्छ-
"सत्ताको सौन्दर्यशास्त्रमा मृत्यु महादान!"