काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरु संविधानसम्मत् नभएको बताए।
कानुन संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत् नहुने भन्दै उहाँले संविधानसम्मत् नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताए। पार्टी सभापति शेरबहादुर देउवालाई आफुहरुले सो कुरा राखिसकेको उनले उल्लेख गरे। गठबन्धनले संविधानसँग बाझिनेगरी कुनैपनि काम नगर्नेमा उनले विश्वास व्यक्त गरे।
उनले भने, ‘नेपाली कांग्रेसको सभापतिजीलाई मैले आजको छलफलमा पनि भनिसकेको छु। र योभन्दा अगाडि पनि भनिसकेको छु। र गठबन्धनको नेताहरुसँग मेरो प्रत्यक्ष रुपमा भेटघाट नभएको हुनाले गर्दा म यो माध्यमबाट पनि उहाँहरुलाई के भन्न चाहान्छु भने स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरु गठबन्धन भित्र प्रवेश भएको छ, र जुन जुन विकल्पहरुको बारेमा छलफल भयो भनेर सञ्चार माध्यमबाट बाहिर आएका छन्। ती कुनैपनि विषयहरु संविधानसम्मत् छैन।'
सभापति देउवाले सो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिवद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए। शनिबार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको उनको भनाई छ।