काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।
राष्ट्रपतिले शुक्रबार उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर बेलायत सरकारबाट एग्रिमो आएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन्।
सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उनलाई बेलायतको राजदूतमा नियुक्त गरेको थियो।
यसअघि सरकारले बेलायतसहित भारत र अमेरिकाको राजदूतमा क्रमश: आचार्य, शंकर शर्मा र श्रीधर खत्रीलाई सिफारिस गरेको थियो।
तीनै जनाको संसदीय सुनुवाई एकैपटक सकिए पनि भारत र अमेरिकाबाट भने एग्रिमो प्राप्त भइसकेको छ। विदेशस्थित नेपालका २० वटा मिसनहरु अझै नेतृत्वविहीन रहेका छन्।
चीन, कतार, मलेसिया, जापान, बंगलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिका, म्यानमार, इजिप्ट, साउदी अरब, अस्ट्रेलिया, श्रीलंका, बहराइन, इजरायल, डेनमार्क, रुस र अस्ट्रियाका दूतावास नेतृत्वविहीन छन्।