काठमाडौं- संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धी पुस्तिका नै प्रकाशित गर्ने भएको छ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धी व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई सम्बन्धि विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो ।
समितिको काम प्रभावकारी बनाउने गरी त्यस सम्बन्धि विगतका कामहरुको विवरणसहितको पुस्तिका तयार गर्न सचिवालयलाई निर्देशन दिइएको सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए। उनले भने, ‘नेपालको संसदमा संसदीय सुनुवाईको अवधारणा प्रारम्भ भएदेखि हालसम्मको संसदीय सुनुवाई सम्बन्धि भएका व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई सम्बन्धि विवरण पुस्तिका तयार पार्न र समितिमा पेश गर्न सचिवलाई निर्देशन दिने निर्णय गरिएको छ।’
सभापति कर्णले संसदीय सुनुवाई समितिको कामलाई प्रभावकारी बनाउन संघीय संसद ऐन नै परिमार्जन गरेर अघि बढनुपर्ने बताए। संसदीय सुनुवाई समितिको कामबारे विभिन्न ठाउँमा प्रश्न उठने गरेकाले पनि यसको प्रभावकारिताका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाई थियो।