बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आयोगका उपाध्यक्ष डा गिरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न डा केसीको माग

आयोगका उपाध्यक्ष डा गिरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न डा केसीको माग

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीमाथिको आक्रमण संयोग मात्र भन्न नसकिने बताएका छन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीमाथिको आक्रमण संयोग मात्र भन्न नसकिने बताएका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले  अयोगका पदाधिकारीमाथिको आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन समेत माग गरेका छन् । बिहिबार आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीमाथि आक्रमण भएको थियो। 

डा. केसीले आयोगले लिइसकेको प्रवेश परीक्षाको नतिजा रोक्न मेडिकल माफियाहरु लागेकोसमेत बताए्। 

यस्तो छ डा केसीको विज्ञप्ति 

आम नेपाली जनताको प्रयासम शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, विपन्न लगायत सवै विद्यार्थीको शिक्षामा समान पहुँच, सवै नेपालीहरुको गुणस्तरीय, निशुल्क वा सस्तो र सुलभ स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गर्न चिकित्सा शिक्षा ऐन जारी भएको र त्यसै अनुरुप चिकित्सा शिक्षा आयोग गठन भएको कुरा सर्वविदितै छ।

विभिन्न दलका राजनीतिज्ञहरु, मेडिकल माफिया, बिचौलिया र दलालहरुको नाजायज हस्तक्षेप र दबाबको वावजुद आयोगले नेपालको मेडिकल शिक्षा सुधारमा उल्लेख्य कामहरु गरेको छ। त्यसै अन्तर्गत आयोगले अघिल्लो वर्षदेखि स्नातक र स्नातकोत्तर तहको साझा प्रवेश परीक्षा लिन थालेको छ। हालै यस वर्षको स्नातकोत्तर तहको प्रवेश परीक्षा पनि सफलताका साथ सम्पन्न गरेको छ। आयोग र चिकित्सा शिक्षा ऐनको असफलताका लागि मरिमेटेका विभिन्न स्वार्थ समुहहरुले आयोगको काममा भाँजो हाल्ने प्रयास शुरुदेखि नै गर्दै आएका छन्।

पछिल्लो समय फेरि एकपल्ट आयोगका पदाधिकारीमाथि सांघातिक हमलाको प्रयाससमेत भएको छ। त्यस्तो भौतिक आक्रमण गर्नेहरुलाई तत्काल पहिचान गरी कानुनअनुसार कडा दण्ड दिन हामी सरकारसित माग गर्दर्छौं। तर आयोगको काम कारवाहीमाथि निरन्तर भाँजो हाल्दै आएका विभिन्न स्वार्थ समुहहरु यस खाले आक्रमणको जवाफदेहिताबाट बच्न नसक्ने हाम्रो ठहर छ। त्यसरी भाँजो हाल्नेमध्ये आयोगको नियमनका कारण विदेशमा विद्यार्थी तस्करी गर्नबाट वञ्चित समुहहरु मुख्य रहेका छन्।

आयोगबाहेकका अन्य नियामक निकायमा त्यस्तो स्वार्थ समुहका व्यक्तिहरु पदासीन रहँदा उनीहरुले पदीय मर्यादाविपरीत काम गरिरहेका छन्। उनीहरुले हालै प्रश्नपत्र बाहिरिएको लगायत विभिन्न अफवाह फैलाएर स्नातकोत्तर तहको प्रवेश परीक्षा रोक्न हरसम्भव प्रयास गरेका थिए। त्यसका लागि सुनियोजित मिडियवाजी तथा सामाजिक सञ्जालको व्यापक दुरुपयोग गरेका थिए। त्यसमा सफल नभएपछि भइसकेको परीक्षाको नतिजा रोक्न उनीहरुले हरसम्भव प्रयास गरिरहेका छन्। त्यो प्रयास पनि असफल हुन थालेको समयमा आयोगका उपाध्यक्षको गाडीमाथि आक्रमण हुनु संयोग मात्रै भन्न गाह्रो छ।

यो पृष्ठभुमिमा आयोगले लिइसकेको प्रवेश परीक्षाको नतिजा रोक्न तथा विदेशमा पढाइ शुरु गरेका विद्यार्थीहरुलाई कानुनविपरीत नेपालमा पढाउने व्यवस्थाका लागि हाल नाजायज दबाब दिइरहेका सबै पक्षहरुलाई हामी आयोगको कार्य सम्पादनमा कुनै हस्तक्षेप नगर्न कडा चेतावनी दिन चाहन्छौं। साथै आयोगका पदाधिकारीहरुमाथि कायरतापूर्ण आक्रमण गर्नेहरुलाई कानुनको कठघरामा उभ्याउन तथा आफ्नो व्यवसायिक स्वार्थका लागि आयोगको कार्य सम्पादनमा अवरोध ल्याउन खोज्ने अन्य नियामक निकायका पदाधिकारीहरुलाई पदबाट हटाउन र आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । 

डा गोविन्द केसी,

काठमाडौं २०७८।१०।१४


प्रकाशित: Jan 28, 2022| 16:27 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...