बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रीय समिति बैठकमा कार्यसम्पादन समिति गठन मुख्य एजेन्डा, चुनावबारे छलफल

कांग्रेस केन्द्रीय समिति बैठकमा कार्यसम्पादन समिति गठन मुख्य एजेन्डा, चुनावबारे छलफल

दिउँसो ३ बजे बस्ने भर्चुअलरुपमा बस्न लागेको बैठकको मुख्य एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति गठन रहेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकको एकल कार्यसूची कार्यसम्पादन समिति गठन गर्ने रहेको जानकारी दिए।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- सत्तासीन दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। दिउँसो ३ बजे बस्ने भर्चुअलरुपमा बस्न लागेको बैठकको मुख्य एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति गठन रहेको छ।  मुख्य सचिव  कृष्णप्रसाद पौडेलले बैठकको एकल कार्यसूची कार्यसम्पादन समिति गठन गर्ने रहेको जानकारी दिए। 

केन्द्रीय समितिको संख्या जम्बो बनेपछि विधान अनुसार कार्यसम्पादन समिति मार्फत काम गर्ने तयारी कांग्रेसको छ। १३औं महाधिवेशनपछि कार्यसम्पादन समिति  बनाइएको थियो। तर, समिति गठनमा विवाद भएपछि  बनिसकेको समिति भंग गरिएको थियो।

त्यसपछि सभापति शेरबहादुर देउवाले विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएर आवश्यक छलफल र निर्णय गर्दै आएका थिए। तर, अहिले भने महाधिवेशन भएको दुई महिना नपुग्दै देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन्।

१६७ सदस्यीय केन्द्रीय समितिको बैठक सहजै बस्न सक्ने अवस्था छैन। सबै केन्द्रीय सदस्यको राय लिएर निर्णय लिँदा लामो समय लाग्न सक्ने अवस्थालाई ध्यानमा राखेर कार्यसम्पादन समितिको निर्णय केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने योजना कांग्रेसको छ। 

कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ। समितिमा १४ जना पदाधिकारी र पार्टी सभापतिको प्रस्तावमा अन्य ३१ जना सदस्य रहन्छन्।  केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेका बेला केन्द्रीय समितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्न सक्ने कांग्रेस विधानको प्रावधान छ। यद्यपी  कार्यसम्पादन समितिको निर्णय केन्द्रीय समितिले अनुमोदन भने गर्नुपर्ने छ। 

निर्वाचनबारे छलफल हुने 

कार्यसम्पादन समिति गठन गर्न भनेर बोलाइएको बैठमा स्थानीय तहको निर्वाचनका बारेमा समेत छलफल हुने बताइएको छ। संविधान अनुसार अगामी वैशाखमा गर्नुपर्ने निर्वाचन सरकारले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर धकेल्ने प्रयास गरिरहेको छ।

तर, डा. शेखर कोइराला समूहले भने वैशाखमा स्थानीय निर्वाचन गर्नुपर्ने अडान राखिरहेको छ। निर्वाचन सार्ने बहस चलिरहँदा देउवाले पार्टी भित्र छलफल नगरेको भन्दै शेखर समूहले देउवाको आलोचना समेत गरिरहेको छ।

‘एजेन्डा कार्यसम्पादन समिति गठनको हो। विधान अनुसार कार्यसम्पादन समिति गठन गर्ने कुरा राम्रो हो,’ शेखर समूहका एक नेता भन्छन्, ‘तर समिति गठनमा मात्रै  आजको बैठक समिति हुनुहुँदैन र हुँदैन पनि। स्थानीय निर्वाचनका सन्दर्भमा पनि कुरा उठाउँछौं।’

प्रकाशित: Jan 28, 2022| 12:00 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...