बुधबार, असार ३१, २०८३

साढे ३३ किलो सुन अझै गायब, किन खुल्दैनन् गोरे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- साढे ३३ किलो सुन तथा सनम शाक्यको हत्याबारे छानविन गर्न गठित समितिले प्रतिवेदन तयारी अन्तिम चरणमा पुगेको बताएको छ।

समितिका सदस्य तथा एसएसपी वसन्तकुमार लामाले प्रतिवेदन लगभग तयार भइसकेकाले २/३ दिनभित्र सरकारलाई बुझाउने तयारी भइरहेको नेपाल समयलाई जानकारी दिए।

राजनीति तथा शक्तिकेन्द्रको आड पाएका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ तथा विमल पोद्दार समितिसँग खुल्दै खुलेनन्। उप्रेतीले आफू भरिया मात्र भएकोबाहेक अन्य केही बताएनन्। अर्का मुख्य अभियुक्त भारतीय नागरिक पोद्दार समितिसँग अन्तिमसम्म बोलेनन्। 

स्रोतका अनुसार उप्रेती र पोद्दारको ‘कनेक्सन’ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपल्लो तहका नेतासम्म छ। साढे ३३ किलो सुन सानु बनले बोकेको र ट्रयाक्टर दुर्घटनामा उनको रहस्यमय मृत्यु भइसकेका कारण भेटिने सम्भावना नरहेको समितिले निष्कर्ष निकालेको छ।

शक्तिकेन्द्रको आड पाएका मुख्य अभियुक्तहरूले समितिलाई टेर्दै टेरेनन्। सोही कारण समिति मुख्य अभियुक्तसम्म पुग्नै पाएन। नियन्त्रणमा लिइएका पोद्दार र उप्रेतीको मौनता कायम रहँदा ३२ साउनमा समितिको म्याद नै सकिएको छ। 

समिति गठन नै त्रुटिपूर्ण : पूर्व एआईजी भण्डारी

समितिको गठन नै त्रुटीपूर्ण रहेकाले परिणाम शून्य आएको नेपाल प्रहरीका पूर्वएआईजी अनुसन्धानविज्ञ राजेन्द्रसिंह भण्डारी बताउँछन्। उनका अनुसार मुलुकी ऐनको दफा १२ अनुसार संगठित अपराधको अनुसन्धान गर्ने संयोजक अनुुसन्धान विज्ञ हुनुपर्छ। तर, छानविन समितिका संयोजक ईश्वरराज पौड्याल नेपाल सरकारका सहसचिव हुन्, अनुसन्धान विज्ञ होइनन्।

साढे ३३ किलो सुन सानु बनले बोकेको र ट्रयाक्टर दुर्घटनामा उनको  रहस्यमय मृत्यु भइसकेका कारण भेटिने सम्भावना नरहेको समितिको निष्कर्ष

सोही कारण गहन अनुसन्धानभन्दा लोकप्रियता र प्रचारमुखीको काम मात्र समितिले ज्यादा गरेको जानकारहरू बताउँछन्। 

जानकारहरूका अनुसार समितिको रणनीतिक ‘अप्रोच’ शून्यप्रायः देखिएका छ। समिति नै प्रचारबाजीमा रमाउँदा छानविनले गलत कोर्स लिएका कारण परिणाम शून्य आएको हो।

पूर्वएआईजी भण्डारीलगायतको अनुसन्धान विज्ञहरूको टोलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेरै छानविन प्रक्रिया नै गलत भएको सुझाव दिएका थिए। तर, उनीहरूको सुझाव कार्यान्वयनको साटो उल्टै गृह मन्त्रालयले विज्ञप्ति निकालेर विज्ञहरूलाई गाली गर्‍यो। 

पछिल्ला दिनमा तस्करीका मुख्य अभियुक्तलाई उम्काउने र भरिया मात्र पक्रिने काममा लागेको आरोप छानविन समितिमाथि नै लाग्न थालेको थियो। 

साढे ३३ किलो सुन तस्करीको छानविन शुरु गरेको महानगरीय प्रहरी अपराध महाशाखाको टोली नै पक्राउ परेर संगठित अपराध अभियोगमा पुर्पक्षका लागि थुनामा छ। एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हाल थुनामा छन्। सोह टोलीले उक्त प्रकरणबारे छानविन थालेको थियो। 

गृह मन्त्रालयको समिति गठन भएको दुई महिनापछि मात्र मुख्य अभियुक्त भनिएका मोहन अग्रवालको घरमा छापा मारेको थियो। पछिल्ला दिनमा अनुसन्धान समिति काठमाडौं केन्द्रित भएको आरोप पनि लागेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।