काठमाडौँ- प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना प्रोटोकलप्रति गम्भीर हेलचक्र्याइँ गरेका छन्। कोरोना पोजेटिभ हुँदाहुँदै पनि सार्वजनिक रूपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागी भएर कोरोना प्रोटोकलको खिल्ली उडाएका हुन्।
माघ ९ गते ओलीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। एमालेले माघ ११ गते सार्वजनिक रूमपा नै विज्ञप्ति जारी गरेर अध्यक्ष ओलीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो। तर माघ १२ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा उनी श्रीमतीसहित सहभागी भएका हुन्।
रक्तदान कार्यक्रम एमाले भ्रातृ संगठन युवा संघले आयोजना गरेको हो। कार्यक्रम भक्तपुर बालकोटस्थित ओली निवास नजिकै आयोजना गरिएको थियो।
कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं एमाले नेताकार्यकर्ताको उपस्थित थिए।
कार्यक्रममा पुगेका ओलीले आफूलाई कोरोना संक्रमण भएको बताए। ओलीले 'मलाई त रिपोर्टअनुसार छोयो भन्ने छ' भनेका पनि थिए।
कार्यक्रममा सांसद महेश बस्नेतले कोरोना पोजेटिभ भएपनि ओली आफूहरूको मायाले कार्यक्रममा आइदिएको भन्दै कृतज्ञता व्यक्त गरेका थिए।