काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा समसामयिक विषयमा छलफल भएको छ।
त्यस अवसरमा उनीहरूबीच बुधबार सम्पन्न राष्ट्रियसभाको निर्वाचन, कोभिड–१९ नियन्त्रण गर्न सरकारले गरेका प्रयास, स्थानीय निर्वाचन तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
उनले भने, 'सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीबीच अपराह्न ३ बजेदेखि करिब एकघण्टा भेटवार्ता भयो, यो नियमित भेट हो।'
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनबारे राखेको चासोपछि प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनका सम्बन्धमा गठबन्धनमा रहेका दलहरुसँगको परामर्शपछि निर्णय लिनेसमेत बताएका छन्।
उनले अहिले स्थानीय निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल भइरहेको जानकारी दिएका थिए। प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयनमा सरकार पूर्ण प्रतिबद्ध रहेको तथा संवैधानिक प्रावधानअनुसार समयमै निर्वाचन गर्ने दृढता व्यक्त गरेको बताइएको छ।