गलकोट- एक वर्षदेखि सम्पर्कविहीन भएका नेपाली श्रीमान् खोज्दै भारतको चेन्नईदेखि एक भारतीय महिला दुई छोरीसहित बागलुङ आएका छन्। सन् २००२ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका कुश्मिसेरा–१ टाहरास्थित प्रकाश शर्मासँग भारतमा विवाह गरेका भारतीय नाम भानमोझी (नेपाली नाम मीना शर्मा) अहिले श्रीमान्को खोजी र न्यायको लागि बागलुङ आएकी छन्।
भारतमा झुक्काएर विवाह गरेपछि भानमोझीले दुई छोरी गंगालक्ष्मी शर्मा र ऐश्वर्य शर्मालाई जन्म दिएकी छन्। अहिले जेठी छोरी १८ वर्ष र कान्छी छोरी १७ वर्षको भइसकेका छन्। उनीसँग न त विवाह गरेको प्रमाणपत्र नै छ, न त नेपाली नागरिकताको प्रमाण पत्र नै। प्रहरी र प्रशासनको सहयोगमा दुई छोरीको जन्मदर्ता र जेठी छोरीको नागरिकता बनाए पनि भानमोझीसँग विवाह दर्ता र श्रीमान्को नाममा नागरिकता पाएका छैनन्।
'श्रीमानले म अनाथ हो, भारतमा व्यवसाय छ भनेर मलाई झुक्काएर सन् २००२ मै भारतको चेन्नईमा विवाह गरेका थिए, त्यपछि उनले आफ्नो ठाउँ–ठाउँमा व्यवसाय गर्ने भन्दै आउँदै फर्कंदै गर्ने गरेको पाइयो,' श्रीमती भानमोझीले भने, 'पछि बुझ्दै जाँदा त आफू बाहेक अन्य तीन जनासँग समेत विवाह गरिसकेको पत्ता लाग्यो, हामी यसअघि पनि उसको घर कुश्मिशेरामा आयौं, श्रीमान्को बाबु आमाले उसलाई लुकाए, हामीलाई निकै दुःख दिएपछि पुनः भारत फर्केका थियौं।'
अहिले एक वर्षदेखि उनी सम्पर्कमा छैनन्।, दुई छोरी र श्रीमान्को साइली श्रीमतीकी छोरा समेत पाल्दै आएको छु, मेरो जिन्दगी त बर्बाद भयो, तर मेरो दुई छोरी र अर्की श्रीमतीको छोरालाई जन्मदर्ता र नागरिकता दिलाउनु छ, न्यायको लडाइँका लागि होटलमा काम गर्दै लडिरहेको छु,' उनले भने।
श्रीमान्ले झुटो बोल्दै विवाह गर्दै छोराछोरी पाउँदै हिँडेको उनले बताए। उनले छोरीलाई पाल्न निकै समस्या भएको भन्दै छोरीहरुको राम्रो पढाइ भए पनि अहिले होटलमा काम गरेर गुजारा चलाउदै आएको बताए। छोरी ऐश्वर्य शर्माले बाबाकै कारण पढाइबाट वञ्चित भएको जानकरी दिए। 'बाबाले मम्मीलाई निकै दुःख दिनुभयो, अहिले एक व्यक्तिका कारण हाम्रो परिवार नै तहसनहस भएको छ,' छोरी ऐश्वर्य शर्माले भनिन्, 'बाबाले आमा बाहेक अन्य तीन स्थानमा विवाह गरेको पत्ता लगाइयो, बागलुङमा हजुरबुबा पद्मनाथ शर्मालेसमेत हामलिाई यहाँ बस्न दिनुहुन्न, काम गरेर खानसमेत दिनुहुन्न, दिदी गङ्गालक्ष्मी शर्माले भारतमा ११ कक्षामा विज्ञान विषय लिएर अध्ययन गदागर्दै छोडेर अहिले बागलुङको एक होटलमा काम गर्नुहुन्छ, दिदीको डाक्टर बन्ने सपना थियो।'
प्रकाश शर्माले भारतमा नै आफू बाहेक एक जनासँग विवाह गरेको र पुनः नेपालमा आएर सोममाया रेश्मी शर्मासँग विवाह गरेको विवाह दर्ता छ। पछि एक छोरा नन्दिश शर्मालाई जन्मदिएपछि उसलाई समेत छोडेको र अहिले भानमोझीले नै नन्दिश शर्मालाई पालनपोषण गर्दै आएकी छन्। नन्दिश अहिले ६ वर्षका छन्। दुई महिलासँग विवाह गरिसकेका प्रकाशको २०७३ साल जेठ २० गते तत्कालीन कुशिसेरा गाउँ विकास समितिको कार्यालयले सोममाया रेश्मी शर्मासँग सामाजिक परम्पराअन्तर्गत विवाह गरेको भन्दै विवाह दर्ता गरिदिएको छ। तर प्रकाशले अहिले पुनः नेपालमा अर्को विवाह गरेर छोरा जन्माएका छन्।
भानमोझीसँग प्रकाशले जन्माएको जेठी छोरी गंगालक्ष्मी शर्मालाई भने जिल्ला प्रशासन कार्यालयले २०७७ सालमा प्रकाशकै नामबाट नागरिकता दिएको छ। प्रकाशले पुनः अर्को विवाह गरी छोरा जन्माएको भानमोझीको भनाइ छ। अहिले आफ्नो, कान्छी छोरीको नागरिकता र आफूसँगै रहेको श्रीमान्को साइली श्रीमतीको छोराको जन्मदर्ताको लागि लडिरहेको उनले बताइन्। एक वर्षदेखि बागलुङको एक होटलमा काम गरेर उक्त परिवारले जीविका चलाउँदै आएका छन्।