काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरिकन ब्राण्ड थ्रिएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार ११४ थान थ्रिएम मास्कसहित चार जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ललितपुर टिकाथली घर भएका ३४ वर्षीय बुद्धिबहादुर कार्की, काठमाडौं भोटेबहाल बस्ने भारत राजस्थान घर भएका नक्कली थ्रिएम मास्कको सप्लायर्स २० वर्षीय यश अग्रवाल, २० वर्षिय श्री यान्स लावटी र ललितपुर सातदोबाटो बस्ने अनेष्ट सप्लायर्सका म्यानेजर संखुवासभा सभापोखरी गाउँपालिका-१ घर भएका २३ वर्षीय मुक्ति प्रसाद पोखरेल रहेका छन्।
काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अमेरिकन ब्राण्ड थ्रिएम मास्क तथा थ्रिएम हेल्थक्येर युएसको नक्कल गरी कम गुणस्तरका मास्क नेपाली बजारमा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्समा जाँच गर्ने कम गुणस्तरको मास्क फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।
साथै महालक्ष्मी इशान इन्टरप्राइजेजबाट चार हजार १९४ थान र अनेष्ट सप्लायर्सबाट १ हजार ९२० थान नक्कली थ्रिएम मास्क प्रहरीले बरामद गरेको छ। उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।