काठमाडौं- राष्ट्रिय सभाको बुधबार भएको निर्वाचनबाट २७ वर्षपछि राष्ट्रिय जनमोर्चाले पुनरागमन गरेको छ। पाँच दलीय गठबन्धनमा दलित कोटाबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेशका तलुबहादुर विश्वकर्मा राष्ट्रियसभा सदस्य बनेका हुन्।
२०५१ सालको मध्यावधि निर्वाचनदेखि निरन्तर चुनावमा भाग लिँदैआएको राजमोका विश्वकर्मा पहिलो पटक राष्ट्रिय सभामा सांसद निर्वाचित भएका हुन्।
रुपन्देहीका विश्वकर्माले एमाले उम्मेदवार गुल्मीका कृष्ण सुनारलाई पराजित गरेका हुन्। विश्वकर्माले ४ हजार ३५६ मत प्राप्त गरे। त्यस्तै सुनारले ३ हजार ३४८ मत ल्याइन्।
२०१५ सालमा बाग्लुङ गलकोटमा जन्मिएका विश्वकर्मा स्कुल पढ्दै गर्दा राजनीतिमा जोडिन पुगेका थिए। २०२७ सालमा उनी स्कुलका तत्कालीन हेडमास्टर चित्रबहादुर केसी र शिक्षक झलनाथ खनालको सम्पर्कपछि राजनीतिमा आएका थिए।
बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि भएको पहिलो आमनिर्वाचन बहिस्कार गरेको नेकपा मसालले त्यसपछि भने संसदीय व्यवस्थालाई उपयोग गर्ने नीति लिँदै आएको छ।
२०५१, २०५६, २०७४ सालको संसदीय चुनाव, २०६४ र २०७० संविधानसभा चुनावमा खुला मोर्चाको रुपमा राजमोमार्फत् प्रतिस्पर्धामा सहभागी हुने गर्छ। राजमोको संघीय प्रतिनिधिसभा मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेश सभामा समेत प्रतिनिधित्व रहेको छ।