काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गत बिहीबार निधन भएका पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई रु ३२ हजार सहयोग गरेकी छन्। अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहेका विकले थोरै पैसाको अभावमा ज्यान गुमाएको समाचार सार्वजनिक भएपछि मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम उपलब्ध गराएकी हुन्।
मन्त्री झाँक्रीले मृतक विकको श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा रकम ट्रान्सफर गरिदिएको उनको सचिवालयले जनाएको छ।
अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण पत्रकार विकको मृत्यु भएको विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउन पहल गर्नुपर्ने विश्वास व्यक्त गरेकी मन्त्री झाँक्रीले विकप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको सचिवालयले जनाएको छ।