बुधबार, भदौ ३, २०८३

कांग्रेसले बढायो ३ सिट, ७ पद गुमाएर १७ मा खुम्चियो एमाले

सत्तापक्षीय गठबन्धनमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ५-५, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक-एक उम्मेदवार विजयी भएका छन्। त्यसैगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट प्रदेश १ मा एक जना उम्मेदवार विजयी भएका छन्।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं- राष्ट्रिय सभाका १९ सदस्यका लागि बुधबार भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। अन्तिम मतपरिणाम अनुसार सत्तापक्षीय गठबन्धनबाट १८ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट एक जना उम्मेदवार विजयी भएका छन्। 

सत्तापक्षीय गठबन्धनमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ५-५, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक-एक उम्मेदवार विजयी भएका छन्। त्यसैगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट प्रदेश १ मा एक जना उम्मेदवार विजयी भएका छन्। 

प्रदेश १ मा राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।  अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् भने अन्यतर्फ सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्‍नेत विजयी भएका छन्। गठबन्धनका बस्‍नेत र एमालेका गुरु बरालको मतभार बराबर भएपछि गोलप्रथा भएको थियो। गोलाप्रथामा गठबन्‍धनका बस्‍नेत विजयी भएका हुन्।

मधेश प्रदेशमा पनि गठबन्धनका उम्मेदवार महिला समूहतर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल विजयी छन्। यता अन्य समूहबाट जसपाका उम्मेदवार खालिद सिद्धिकीले विजयी भएका छन्।

वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ। निर्वाचन परिणाम अनुसार गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना महिला कोटा र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन्।

त्यसैगरी गण्डकी प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन्। 

लुम्बिनी प्रदेशमा पनि गठबन्धनका उम्मेदवारहरु नै विजयी भएका छन्। महिलातर्फ एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्र लक्ष्मी गैरै, अन्यतर्फ नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलबहादुर विक विजयी भएका हुन्।

कर्णालीबाट पनि गठबन्धनका तीनजनै उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मदवारलाई पराजित गर्दै अन्यतर्फ एकीकृत समाजवादीका उदय बोहोरा, अपांग/आदिवासीतर्फ माओवादी केन्द्रका नरबहादुर विष्ट र  महिलातर्फ कांग्रेसकी दुर्गाकुमारी गुरुङ निर्वाचित भएका हुन्। 

सुदूरपश्चिमबाट पनि गठबन्धनका उम्मेदवारले क्लिनस्विप गरेका छन्। जसमा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन्।

७ पद गुमाएर १७ मा खुम्चियो एमाले 

यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए।  राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

निर्वाचन भएका १९ पदमा एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ। तर यो निर्वाचनबाट एमालेले ८ मध्ये एक पदमात्रै जोगाउन सकेको छ भने ७ पद गुमाएको छ। ७ पद कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले लिएका छन्।

राष्ट्रिय सभामा अब कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १-१ र जसपाले १ सिट बढाएका छन्। तर, अझै पनि राष्ट्रिय सभाको पहिलो ठूलो दल भने एमाले नै रहनेछ। हाल राष्ट्रिय सभामा एमालेका २४ सिट छन्। अब ७ गुमाएर पनि एमाले १७ सिटसहित खुम्चिएको हो।

यससँगै माओवादी केन्द्रले १५ सिट पुर्‍याएको छ भने कांग्रेसले १० सिट पुर्‍याएको छ। त्यस्तै, एकीकृत समाजवादीले ८ र जसपाले ३ सिट पुर्‍याएका छन्।

२७ वर्षपछि राष्ट्रिय सभामा जनमोर्चा

राष्ट्रिय सभाको बुधबार भएको निर्वाचनबाट २७ वर्षपछि राष्ट्रिय जनमोर्चाले पुनरागमन गरेको छ। पाँच दलीय गठबन्धनमा दलित कोटाबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेशका तलुबहादुर विश्‍वकर्मा पहिलो पटक राष्ट्रिय सभा सदस्य बनेका हुन्। 

२०५१ सालको मध्यावधी निर्वाचनदेखि निरन्तर चुनावमा भाग लिँदैआएको राजमोका विश्वकर्मा पहिलो पटक राष्ट्रिय सभामा सांसद निर्वाचित भएका हुन्। 

रुपन्देहीका विश्वकर्माले एमाले उम्मेदवार गुल्मीका कृष्ण सुनारलाई पराजित गरेका हुन्। विश्वकर्माले ४ हजार ३५६ मत प्राप्त गरे। त्यस्तै सुनारले ३ हजार ३४८ मत ल्याइन्। 

२०१५ सालमा बाग्लुङ गलकोटमा जन्मिएका विश्वकर्मा स्कुल पढ्दै गर्दा राजनीतिमा जोडिन पुगेका थिए । २०२७ सालमा उनी स्कुलका तत्कालीन हेडमास्टर चित्रबहादुर केसी र शिक्षक झलनाथ खनालको सम्पर्कपछि राजनीतिमा आएका थिए ।

बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि भएको पहिलो आमनिर्वाचन बहिस्कार गरेको नेकपा मसालले त्यसपछि भने संसदीय व्यवस्थालाई उपयोग गर्ने नीति लिँदै आएको छ ।

२०५१, २०५६, २०७४ सालको संसदीय चुनाव, २०६४ र २०७० संविधानसभा चुनावमा खुला मोर्चाको रुपमा राजमोमार्फत् प्रतिस्पर्धामा सहभागी हुने गर्छ। राजमोको संघीय प्रतिनिधिसभा मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेश सभामा समेत प्रतिनिधित्व रहेको छ।

प्रकाशित: Jan 26, 2022| 20:02 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...