काठमाडौं– नेपालको जनसंख्या वृद्धिदर घटेको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार नेपालको जनसंख्याको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको जनाएको हो।
विभागका अनुसार नेपालमा कुल जनसंख्या बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। विभागले यो जनसंख्यालाई विगत ८० वर्षयताकै न्यून वृद्धिदर भनेको छ।
२०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारीमा थियो। यस पटकको जनगणनाले २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्या देखाउनु भनेको अघिल्लो जनगणनाको तुलनामा जम्मा २७ लाखले मात्रै वृद्धि हो।
यसलाई प्रतिशतमा गणना गर्दा ०.९३ प्रतिशत हुन आउँछ। २०६८ सालको जनगणनामा वृद्धिदर १.३५ प्रतिशत थियो। यसलाई हेर्ने हो भने नेपालको जनसंख्या ०.९३ प्रतिशतले बढेको देखिन्छ।