बुटवल- राष्ट्रियसभाको रिक्त तीन पदका लागि लुम्बिनीमा मतदान सुरु भएको छ। तोकिएकै समय बिहान ९ बजे दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो। सुरुमा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मतदान गरेका छन्।
लुम्बिनी प्रदेशबाट महिलातर्फ कोमल ओली, अन्यतर्फ दृगनारायण पाण्डे र दलिततर्फ रामलखन चमारको कार्यकाल सकिन लागेको हो। त्यही तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो।
निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा छन्। एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा छन्।
राष्ट्रियसभामा प्रदेश सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्न पाउनेछन्। प्रदेशका तीन र स्थानीय तहका ३/३ वटा मतपेटिका राखिएको छ। कोभिड संक्रमितलाई स्यानिटाइजर गरेर मतदानको व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
लुम्बिनीमा प्रदेश सांसद ८१, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१५ जना गरी कुल मतदाता संख्या २९६ रहेको छ।
८१ प्रदेशसभा सदस्यको मतभार कुल ३ हजार ८ सय ८८, स्थानीय तह तर्फको कुल मतभार ३ हजार ८ सय ७० गरी यो प्रदेशको कुल मतभार ७ हजार ७ सय ५८ छ। यसमध्ये प्रदेशसभा सदस्यमा गठबन्धनका नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जना सांसद छन्। जसको कुल मतभार २११२ हुन्छ।
त्यसैगरि गठबन्धनकै स्थानीय तह तर्फ कांग्रेसका ६३, माओवादीका ३६,जसपाका १३, राजमोका ५ र नेकपा एकीकृत समाजवादीका ४ प्रमुख तथा उपप्रमुख छन्। गठबन्धनको स्थानीय तह तर्फको कुल मतभार २१७८ हुन्छ। लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० छ।
गठबन्धनसँग एक्लै चुनावमा भिडेको एमालेको प्रदेशसभामा ३६ जना सांसद छन्। एमालेको प्रदेशसभा तर्फको मतभार १ हजार ७ सय २८ छ। स्थानीय तहतर्फ कुल ८८ प्रमुख तथा उपप्रमुख एमालेका छन्। स्थानीय तहतर्फ एमालेको मतभार १ हजार ५ सय ८४ छ । प्रदेशसभा तथा स्थानीय तह गरी एमालेको कुल मतभार ३ हजार ३ सय १२ देखिन्छ। यस आधारमा सत्तारुढ गठबन्धन ९ सय ७८ मतभारले बढी देखिन्छ।
त्यस्तै राप्रपाका दुई र स्वतन्त्र चार प्रमुख, उपप्रमुख छन्। यो पटक गठबन्धनका उम्मेदवारका लागि अंक गणितका हिसाबले सहज जित रहेको छ। लुम्बिनीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उम्मेदवार तय गरेको छैन। राप्रपाले आफ्नो उम्मेदवार नभएको ठाउँमा मतदानमा सहभागी नहुने जनाइसकेको छ।
लुम्बिनीमा बिहान ९ देखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। २ वटा मतदान केन्द्र तोकिएको लुम्बिनीमा कोभिड संक्रमित भएको खण्डमा स्यानिटाइजर गरेर मतदानको व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। मतदान सकिए लगत्तै परिणाम पनि बुधबार साँझसम्मै प्रकाशित गर्ने तयारी भएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।