काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित १२ वटा प्रयोगशालामध्ये अब तीन वटा प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्न पाउने भएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार गरेको अनुगमनमा तीन वटा ल्याबले मात्र पिसिआर परीक्षणका लागि अनुमति लिएको पाइएकाले उनीहरूलाई मात्र पिसिआर परीक्षणको अनुमति दिइएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाको टोलीले अनुगमनका क्रममा १२ वटा मध्ये सुमेरु अस्पताल प्रालिको ल्याब, स्टार अस्पताल मनेलिक्युलर ल्याब र महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले सञ्चालन गरेको ल्याबले मात्र अनुमति लिएको पाएको हो।
अनुगमनका क्रममा अन्य प्रयोगशालाले कलेक्सन सेन्टरका रुपमा मात्र काम गरेको पाइएकाले उक्त कार्य नगर्न अनुगमन टोलीले निर्देशन दिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको यो निर्णयसँगै अबदेखि विमानस्थलमा कलेक्सन सेन्टरका रुपमा रहेका टिजी मेडिसिन डिस्टिव्युटरस, क्रिस्टल डाइग्नोस्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक, क्लिनिकल एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक, विध ल्याब लगायतले अब पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न पाउने छैनन्।