काठमाडौं- जिल्ला प्रशासन कार्यालय लमजुङले आलोपालो सेवा प्रदान गर्न सुरु गरेको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीका लागि बुधबारबाट आलोपालो सेवा प्रवाहको व्यवस्था मिलाइएको लमजुङ प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार साताको ६ दिन जिल्लाका ८ वटा स्थानीय तहका नागरिकलाई पालैपालो सेवा प्रवाह गरिनेछ।
उनले ८ वटा स्थानीय तह रहेको लमजुङमा आइतबार दूधपोखरी र मस्र्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन्। सोमबार क्व्होलासोथर र दोर्दी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् ।
यस्तै मंगलबार मध्यनेपाल नगरपालिका, बुधबार सुन्दरबजार नगरपालिका, बिहीबार राइनास नगरपालिका र शुक्रबार बेंसीशहर नगरपालिकाका नागरिकलाई सेवा लिन पाउनेछन्। प्रशासनका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यस्तो गर्नु परेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए।