बुधबार, असार ३१, २०८३

ज्यानै लिने 'टिपर दादागिरि' : ५६ दिनमा १५ को हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- २७ असार बिहान ९ बजे कलंकीको त्रिशुल पेट्रोल पम्पनजिकै एक मोटरसाइकललाई टिपरले ठक्कर दियो । बा५२प ३६८९ नम्बरको मोटरसाइकलको पछाडि बसेकी ३९ वर्षीया सरिता प्रधानको अस्पताल पुग्न नपाउँदै प्राण गयो । 

२६ असार दिउँसो जडिबुटीमा टिपरकै ठक्करबाट १८ वर्षका रोयल सुवेदीको घटनास्थलमै मृत्यु भयो । साथी अमन ढुंगानाले चलाएको बा८५प ७१६ नम्बरको मोटसाइकल पछाडि बसेका थिए उनी । बा४ख ८७२५ नम्बरको टिपरले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा गम्भीर घाइते सुवेदीका साथी अमनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

सामाजिक सञ्जालहरूमा टिपरको दादागिरि 'ट्रोल'कै रूपमा छ्यापछ्याप्ति भेटिन्छ । कतिपयले लेख्ने गरेका छन्, 'भगवान् सबै ठाउँमा पुग्न सक्दैनन्, त्यसैले आमा पठाए । यमराज सबै ठाउँमा हुँदैनन्, त्यसैले टिपर पठाए ।' टिपरका कारण सडक दुर्घटना बढेपछि सरकारले राति आठ बजेपछि मात्र चलाउन पाउने निर्देशन जारी गर्‍यो । त्यसलगत्तै फेसबुक ट्रोलमा देखियो, 'साँझ ७.५९ मा घरभित्र पस्नु नत्र टिपर नामको यमराजले १२ बजाउँछ ।'

सामाजिक सञ्जालहरूमा यस्ता अनगिन्ति ट्रोल, स्ट्याटस र कमेन्ट पाइन्छन्, टिपरलाई केन्द्रमा राखेर । ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्री बोकेर सडकहरूमा बेपर्वाह हुइँकिने टिपरका कारण पछिल्ला ५६ दिनमा मात्र १५ जनाको ज्यान गइसकेको छ । यो तथ्यांक काठमाडौं उपत्यकाका तीन जिल्लाको मात्र हो । 

३० असार दिउँसो काठमाडौं सोल्टीमोड नजिक चितवनकी अनुजा घिमिरेको टिपरकै ठक्करबाट मृत्यु भयो । उनका दाजुले चलाएको ना७ख ९४७५ नम्बरको मोटरसाइकलमा पछाडि बसेकी थिइन्, अनुजा । उनी उच्चशिक्षा पढ्ने र जिन्दगीको गोरेटो कोर्ने लक्ष्यका साथ २/३ दिनअघि मात्र काठमाडौं आएकी थिइन् ।

२६ जेठमा जडिबुटीमा टिपरले नै २४ वर्षीया अस्मिता राजभण्डारीको ज्यान लियो । उनी आफैंले चलाएको बा७प ९३९९ नम्बरको स्कुटीलाई बा४ख २५५८ को टिपरले ठक्कर दिएको थियो । घटनामा गम्भीर घाइते उनका श्रीमान्को ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 
 

किशोर उमेरको जोश, भत्ताको लोभ अनि तीव्र गति । काठमाडौं उपत्यकामा उकालो लागेको दुर्घटनाको ग्राफका मुख्य कारण हुन् यी ।


उपत्यकामा पछिल्ला दिनमा दुर्घटना गराउने सवारी साधनमा टिपर र ट्रक नै अग्रपंक्तिमा छन् । जेठ र असारमा मात्र दुई सय ३२ वटा दुर्घटना भइसकेका छन्, टिपर र ट्रकका । तिनमा परी १५ को मृत्यु र ९१ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था नाजुक छ । 

महानगरीय ट्राफिक महाशाखाको तथ्यांकअनुसार दुर्घटनामा परेका ६५ प्रतिशत १७ देखि ३५ वर्ष उमेर समूहका छन् । र, महिलाको तुलनामा  पुरुष चार गुणाले बढी छन् । 

महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार ट्राफिक नियम पालना नगर्ने र लेन मिचेर तीव्र गतिमा हुइँकिने गरेकाले टिपरबाट हुने दुर्घटना बढेको हो । राति मात्र गुडाउन पाइने नियमबाट पनि टिपरको दादागिरि नरोकिए १ भदौदेखि दिउँसो पूर्ण रूप सबै मालवाहक सवारी साधन सडकमा निकाल्न नदिने तयारी भइरहेको एसएसपी पन्त बताउँछन् । 

काभ्रे, सिन्धुपाल्चोक, धादिङलगायत जिल्लाका खानीबाट निर्माण सामग्री बोकेर उपत्यकामा भित्र्याउने टिपरहरूका कारण दुर्घटना बढेको हो । जानकारहरूका अनुसार जति धेरै पटक निर्माण सामग्री ओसार्न सक्यो, त्यति नै भत्ता पाइने भएकाले चालकले तीव्र गतिमा टिपर हुइँक्याउँछन् । काभ्रेमा त टिपरलाई यमराजकै पर्याय मान्ने गरेका छन्, स्थानीय बासिन्दाले । 

अधिकांश टिपरमा किशोर उमेरका चालक हुने गरेकाले पनि दुर्घटनाको दर उकालो लागेको ट्राफिक प्रहरीको भनाइ छ । किशोर उमेरको जोश, भत्ताको लोभ अनि तीव्र गति । मुलुकमै सबैभन्दा बढी सवारी चाप रहेको उपत्यकामा उकालो लागेको दुर्घटनाको ग्राफका मुख्य कारण तिनै हुन् । 

ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार टिपरको बनावट पनि दुर्घटनाको कारक हो । चालक सिटबाट नजिकमा सात फिट अग्लो सवारी साधन र यात्रु मात्र देखिन्छ । जबकि, स्कुटर चालकको बढीमा साढे चार फिट र मोटरसाइकलको बढीमा ६ फिट मात्र हुन्छ । 'टिपरबाट स्कुटी, मोटरसाइकललगायत साना सवारी साधन उच्च जोखिममा पर्नुको कारण त्यही हो,' प्रहरी निरीक्षक हाछेथु भन्छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।