काठमाडौँ- सरकारका कृयाकलापप्रति असन्तुष्टि जनाउँदै आएको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस सडकमा उत्रिने भएको छ। डा गोविन्द केसीको मागप्रति सरकार संवेदनशील नभएको, चिकित्सा शिक्षा विधेयक तोडमोड गरिएकोलगायतका विषयमा विरोध जनाउँदै कांग्रेसले सडक आन्दोलन थाल्ने निर्णय गरेको हो ।
कांग्रेस महामन्त्री डा शशांक कोइरालाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने जनाएका हुन् । विज्ञप्तिमार्फत् विरोध सभाका लागि पार्टीका जिल्ला समितिलाई निर्देशन दिँदै भ्रातृ एवं शुभेच्छुक संस्था र पार्टीका सबै एकाइलाई समेत सहभागी हुन आह्वान गरिएको छ ।
महामन्त्री कोइरालाले सत्ता पक्षले संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुख अलग अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन गरेको, सरकारमा संघीय व्यवस्थाको भावनाविपरीत अधिकारको केन्द्रीकरण गरेको, शक्ति पृथकीकरणको सिद्धान्तविपरीत स्वतन्त्र न्यायालयप्रति प्रस्तुत भएको र संवैधानिक निकायलाई कार्यकारीको छायामा राख्ने जस्ता प्रवृत्ति प्रकट भएको आरोप पनि लगाए ।
महामन्त्री डा कोइरालाले तत्कालीन सरकारले अध्यादेशमार्फत जारी गरेको चिकित्सा शिक्षा विधेयक हुबहु रूपमा आउनुपर्ने बताए । उनले डा केसीको माग सम्बोधन गर्न सरकार उदासिन भएको भन्दै माफिया पोस्ने काम नगर्न समेत चेतावनी दिए ।
'कांग्रेसका सभापति प्रधानमन्त्री भएको बेला विधिसम्मत् तरिकाबाट गरिएका नियुक्तिहरुलाई गैरकानूनी तरिकाबाट खारेज गर्ने, तत्कालीन सरकारले ७० वर्षबाट घटाई ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता दिने व्यवस्था तथा भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णयलाई खारेज गर्ने यो सरकारको जनविरोधी निर्णयको विरोध हुन जरुरी छ', विज्ञप्तिमा उल्लेख छ ।
मूल्यवृद्धिप्रति सरकार गम्भीर नभएको, स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गरेको तथा बाढीपहिरो पीडितका आवश्यकता र समस्याप्रति सरकार उदासीन भएको पनि विज्ञप्तिमार्फत उनले आरोप लगाएका छन् ।
यसैबीच कांग्रेस उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीको बैठकले सरकारविरुद्ध साउन ३, ५ र ८ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४