काठमाडौं - वर्षौंसम्म उनले माइला बाजेको छद्मनाममा राजतन्त्र, दोस्रो जनआन्दोलन, नयाँ संविधान, माओवादी र अन्य राजनीतिक पार्टीलगायत विविध विषयबारे ब्लग लेखे। उनको कलम यति तीखो थियो, उनको दृष्टिकोण तत्कालीन ‘न्यारेटिभ’भन्दा यति फरक थियो— माइला बाजे को होलान् भनेर पाठक गम गान्थे। अनुमान लगाउँथे।
केसैले उनी राजा ज्ञानेन्द्र हुन्, सोचे। कसैले उनी रुक्माङ्गद कटवाल होलान्, अनुमान लगाए। कसैले उनी पत्रकार मन रञ्जन जोशी हुन सक्छन् भने। यावत् अनुमानलाई विराम लगाउँदै अन्ततः माइला बाजे सञ्जय उपाध्यायका रूपमा प्रकट भए।
ब्याकफायर इन नेपाल : हाउ इन्डिया लस्ट द प्लट टू चाइनालगायत पुस्तक लेखेका उपाध्याय आफ्नो परिचय खुलस्त पारेको पुस्तक इम्पावर्ड एन्ड इम्पेरिल्ड : नेपाल्स पिस पजल इन बिट्स एन्ड पिसेसमा लेख्छन्, ‘जब मैले ब्लग लेख्न सुरु गर्दै थिएँ, त्यतिखेर राजा ज्ञानेन्द्रको शाहीशासन चरम स्थितिमा थियो। सात पार्टीको गठबन्धन र माओवादीबीच बाह्रबुँदे सहमतिमा हस्ताक्षर भएको थियो। तर धेरै कुरा अस्पष्ट थिए।भूराजनीति, सार्वजनिक विचार, आशा, निराशा अनुमान लगाउन नसकिने कुरा थुप्रै थिए। शाही प्रतिगमनको ‘न्यारेटिभ’ जति बलियो भए पनि मैले त्यसलाई कहिल्यै विश्वास गरिनँ, अहिले पनि गर्दिनँ। कसैलाई पनि राम्रो नहुने गरी हाम्रो त्रिपक्षीय लडाइँं धेरै लम्बिएको थियो।’ आफ्नो ब्रह्मले जे देख्यो, त्यही लेख्ने स्वतन्त्रता आफूलाई छद्मनामले दिएको उनी बताउँछन्।
माइला बाजेको परिचय थाहा पाएपछि कलाकार मनीषा कोइरालाले ट्विट गरिन्, ‘म र मेरा बुबाआमा अन्तर्दृष्टि र बुझाइले भरिएका उनका लेखहरूको प्रायः चर्चा गथ्र्यौं। र उनको साँचो परिचय अनुमान लगाउने प्रयास गर्यौँ।’ पूर्वपरराष्ट्रमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले भने, ‘वाह ! अनुमान लगाउने खेल सकियो। सुसङ्गत, सुस्पष्ट भएकामा र अझ राम्रो नियतले आफूलाई लागेको कुरा राखेकामा धन्यवाद, सञ्जय उपाध्याय।’
बाह्रबुँदे समझदारीमा हस्ताक्षर र नयाँ संविधान घोषणा भएको बीचको समयमा घटेका राजनीतिक विकासक्रमबारे पुस्तकले नितान्त फरक दृष्टिकोण प्रदान गर्ने प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए। ‘पुस्तकले यी विषयबारेका हाम्रो बुझाइलाई थप फराकिलो बनाउन मद्दत गर्छ,’ उनले भने। पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो। दोस्रो जनआन्दोलन र संविधान घोषणाबीचको अवधिमा लेखिएका लेख पुस्तकमा समावेश छन्।