काठमाडौं- कम्बोडियाका लागि गैह्रआवासीय नेपाली राजदूत गणेश प्रसाद ढकालले कम्बोडियाका राजा नोरोदम सिहामोनीसमक्ष मंगलबार ओहदाको प्रमाणपत्र पेश गरेका छन्।
नोम पेनस्थित रोयल प्यालेसमा आयोजित एक समारोहमा राजदूत ढकालले ओहदाको प्रमाणपत्र बुझाएका हुन्। ढकाल थाइल्याण्डका लागि आवासीय राजदूत हुन्। उनको कार्यक्षेत्रभित्र कम्बोडिया पनि पर्छ।
प्रमाणपत्र बुझाएपछि राजदूत ढकालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताका तर्फबाट कम्बोडियाका राजा र त्यहाँका राजाको सु-स्वास्थ्य, निरन्तर प्रगति र समृद्धिको कामना गर्दै पठाएको सन्देश सुनाएको जनाइएको छ।
नेपाल र कम्बोडियाबीच उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहँदै आएको र उच्चस्तरीय भ्रमणले संबन्ध थप सुदृढ बनेको ढकालले बताए।
प्रत्युत्तरमा कम्बोडियाका राजा सिहामोनीले नेपालका राष्ट्रपति र प्रधानमन्त्री तथा जनताको सु-स्वास्थ्य, खुशी र समृद्धिको कामना व्यक्त गरे।