काठमाडौं- राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदैछ। १९ सिटका लागि ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
प्रमुख प्रतिपक्षी दल एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ। सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मदेवार उठाएका छन्। कांग्रेसले ६ सिट लिएको छ भने माओवादी र एकीकृत समाजवादीले ५-५ सिट पाएका छन्।
जसपाले २ र राजमोले एक सिट गरी पाँच दलीय गठबन्धनले १९ सिटमा तालमेल गरेका छन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि दुई–दुई सिटमा उम्मेदवार उठाएका छन्।
मधेश प्रदेश मा लोसपा र एमालेले गठबन्धन गरेका छन्।
प्रदेश १ मा राष्ट्रिय सभा सदस्यको तीन पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। मधेश प्रदेशमा दुई राष्ट्रिय सभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। बागमती प्रदेश तर्फको दुई सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट दुई जना र एमालेका तर्फबाट दुई जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।
त्यसैगरी, नेमकिपाबाट पुरुषतर्फ कृष्णबहादुर तामाङ र महिलामा गीता काफ्लेले उम्मेदवारी दर्ता गरेको बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोर्साइले जानकारी दिए।
गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच मुल प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय सभामा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सत्तारुढ दलका तर्फबाट तीन जना र नेकपा एमालेका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
कर्णाली प्रदेशमा तीन पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सुदूरपश्चिम प्रदेशमा तीन सदस्य राष्ट्रिय सभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनका तर्फबाट र नेकपा एमालेका तर्फबाट तीन तीन जनाले उम्मेदवारी दिएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश नं १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न आग्रह गरेको छ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले पार्टीका आफ्ना मतदातालाई सो निर्देशन गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिएका छन्। बैठकले अन्य प्रदेशमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदातालाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको छ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ। मतदान माघ १२ गते हुनेछ।