काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको, सरकारसंगको वार्ता विफल भएको र कांग्रेसले डा केसीका पक्षमा सडकमा उत्रिने निर्णय गरेको विषयलाई प्राथमिकतामा पारेका छन् ।
'डा केसी छटपटाउँदै' शीर्षकमा मुख्य समाचार छापेको आजको नागरिक दैनिकले उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उल्लेख गरेको छ । श्वासप्रश्वासमा समस्या हुन थालेपछि डा केसी बेला बेला अत्तालिने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अक्सिनको मात्रा एकदमै घटेको छ भने नशामा संक्रमण देखिन थालेको छ । मस्तिष्कमा देखिएको समस्याका कारण उनी बेला बेला बरबराउने गरेको नागरिक दैनिकले लेखेको छ ।
यसैगरि डा केसी पक्षधर र सरकारबीच दुई चरणमा वार्ता भएपनि कुनै सहमती हुन नसकेको विषयलाई पनि आजका पत्रपत्रिकाले महत्वका साथ छापेका छन् । दुबै पक्षको अडानका कारण वार्ता सफल हुन नसकेको पत्रपपत्रिकाले लेखेका छन् । दुबै पक्ष एकले अर्कोलाई गलाउने रणनीतिमा देखिएको आजका नयाँ पत्रिकाले लेखेको छ ।
यस्तै कान्तिपुर दैनिकले डा केसीलाई काठमाडौं ल्याउनु पर्ने सरकारको अडानका कारण खास विषयमा गम्भिर छलफल नै हुन नसकेको समाचारमा लेखेको छ । उसका अनुसार सरकार झनै कडा भएसंगै वार्तामा कुनै समझदारी हुन सकेको छैन् । डा केसी पक्षधर सरकार पेलेर जाने रणनीतिमा रहेको निष्कर्षमा पुगेका छन् ।
डा केसीको अनशनलाई समर्थन गर्दै चिकित्सा शिक्षा विद्येयक खारेज गर्नुपर्ने मागसहित नेपाली कांग्रेस सडकमा उत्रिने भएको छ । यो विषयलाई आजको अन्नपूर्ण पोस्टले प्राथमिकताका साथ छापेको छ भने अन्य पत्रपत्रिकाले सामान्य महत्व दिएका छन् । कांग्रेसले साउन ३, ५ र ८ गते सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएको छ भने साउन १५ गते देशभरका जिल्ला कार्यसमितिलाई विरोध प्रदर्शन गर्न निर्देशन जारी गरेको अन्नपूर्णले लेखेको छ ।
यसैगरि अन्नपूर्णले अस्थायी र करारमा रहेका ३० हजार कर्मचारी हटाइँउन लागेको, काठमाडौंको कमलपोखरीको २४ रोपनी जग्गा गायब भएको विषयलाई पनि विशेष महत्व दिएर छापेको छ ।
नागरिक दैनिकले भने वार्षिक ६८ करोडको तेल चोरी हुने गरेको खुलासा गरेको छ भने सेक्युरिटी लकिङ सिस्टम जडानपछि चुहावट नियन्त्रण भएको जनाएको छ । यस्तै उसले प्रधानमन्त्री केपी ओली असन्तुष्ट भएपछि सुन तस्करी प्रकरणको अनुसन्धान स्थगित भएको खबर छापेको छ ।
वर्षाले सिसडोलको सडकमा गाडी जान नसकेपछि राजधानीका सडक फोहोरले भरिएको विषयलाई मुख्य समाचार बनाएको नयाँ पत्रिकाले दोलखाको एक विद्यालयले पक्कि भवन बैंकलाई भाडामा दिएर विद्यार्थीलाई टहरामा राखेर पढाएको खुलासा गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४