काठमाडौं- बैंकिङ कसुर मुद्दामा ४० लाख जरिवाना र १० दिन कैद सुनाइएको २० महिनापछि तोरबाबु श्रेष्ठ पक्राउ परेका छन्। उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ४० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने ४४ वर्षीय श्रेष्ठलाई पक्राउ गरेको हो ।
हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो विशेष सूचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको हो ।
काठमाडौंमा लुक्दै बस्ने गरेका प्रतिवादी श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्याएर पीडितलाई चेक दिएका थिए।
फैसला कार्यान्वयनको लागि श्रेष्ठलाई रामेछाप जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङगानाले बताए।