पर्सा– जगरनाथपुर गाउँपालिका ६ बस्ने नागेसर प्रसाद कुर्मीका छोरा १२ वर्षीय मन्टुप्रसाद कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका ६ बस्ने ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन प्रसाद यादव, ३० वर्षीय मनमोहन प्रसाद यादव र २५ वर्षीय रोहन प्रसाद यादव रहेका छन्।
उनीहरुमध्ये गोवरी राउत, नग राउत र शत्रुधनलाई शनिबार तथा मनमोहन र रोहनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
जगरनाथपुर गाउँपालिका ६ स्थित ऊखु खेतमा गत पुस २३ गते दिउँसो मन्टुप्रसादको हत्या भएको अवस्थामा शव फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले छिपहरमाई गाउँपालिका ६ भिष्वास्थित नेपाल भारत सीमाबाट हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरु उपर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।