काठमाडौं- स्वास्थ्य उपचार गरेर स्वादेश फर्किएका माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। चार महिनापछि सोमबार स्वदेश फर्किएका पुनले मंगलबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर भेटेका हुन्।
भेटमा अध्यक्ष प्रचण्डले स्वास्थ्यबारे जानकारी लिंदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए। पुनको सचिवालयका अनुसार उनीसँगै उनकी पत्नी ओनसरी घर्ती पनि खुमलटार पुगेकी थिइन्।
‘लामो समयको उपचार पश्चात् स्वदेश फर्किनुभएका हाम्रो पार्टीका नेता वर्षमान पुन ‘अनन्त’लाई अध्यक्ष कमरेड प्रचण्डले निवास खुमलटारमा स्वागत तथा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो,’ प्रचण्डको फेसबुक पेजमा लेखिएको छ। भेटमा समसामयिक राजनीतिक अवस्था र पार्टीका कामबारे पनि कुराकानी भएको बताइएको छ।